कोहलपुरमा कर्फ्यू

kohalpur

  काठमाडौं । विद्यार्थी र स्थानीयबासीको प्रदर्शन नियन्त्रणबाहिर गएपछि कोहलपुरमा कर्फ्यू लागाइएको छ । प्रदर्शन चर्किदै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले दिउँसो तीन बजेदेखि कर्फ्यू लगाएको हो। कर्फ्यू कोहलपुर बजारभर र त्यस आसपासका क्षेत्रमा लगाइएको बाँके प्रशासनले जनाएको छ।

आइतबार बिहान ट्रकको ठक्करबाट कोलपुर–१० कि १२ वर्षीया बालिका प्रकृति चन्दको दुवै खुट्टा चुँडिएपछि सुरु भएको प्रदर्शनले ठूलो रुप लिएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको जनाएको छ ।

ट्रकले जानीजानी बालिकाको खुट्टा चुँडाएको भन्दै विद्यार्थीले बिहानैदेखि आन्दोलन थालेका थिए । कोहलपुर बजारमा पूर्व पश्चिम महेन्द्र राजमार्गमा रहेको त्रिभुवन विद्यालय अगाडि कक्षा ७ मा अध्ययनरत चन्दलाई ठक्कर दिएको थियो ।

छात्रालाई ट्रकले ठक्कर दिएपछि आक्रोशित विद्यार्थी र प्रहरीबीच झडप हुँदा कोहलपुर दिनभर तनावग्रस्त बनेको थियो।

आक्रोशित भीडलाई नियन्त्रणमा लिन प्रहरीले केही दर्जन रबरका गोली र अश्रु ग्याससमेत प्रहार गरेको थियो।

कोहलपुरका केन्द्र बनाएर उत्तरतर्फ नौबस्ता, दक्षिणतर्फ पिपरीचोकसम्म, पश्चिमतर्फ किरण खोला र पूर्वतर्फ रोहीनी खोलासम्म लागू हुनेगरी कर्फ्यू लगाइएको निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त भट्टराईले जानकारी दिए ।

झडपमा परी कोहलपुर इलाका प्रहरी कार्यालयका डीएसपी हेमबहादुर शाहीसहित १२ जना प्रहरी र २५ जना विद्यार्थी घाइते भएका छन् । हवाई फायरिङका क्रममा ५ जनालाई गोली लागेको छ ।

गम्भीर बनेकी बालिका चन्दलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित