सिन्धुपाल्चोक बस दुर्घटना : मृतकको संख्या १५ पुग्यो, ६ जनाकाे सनाखत

bus 1

  काठमाडौं । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–६ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । केही घाइतेहरूकाे अवस्था गंभिर रहेकाले मृतककाे संख्या अझै बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेककाे भनाइ छ ।

घाइतेहरुको धुलिखेल अस्पताल र खाडीचौरस्थित सिन्धुसदाबहार अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

दोलखा कालिञ्चोकबाट घुमेरी भक्तपुर फर्कदै गरेका यात्रुहरु दुर्घटनामा परेका हुन् । रिजर्भमा गएको बा४ ख ४४६८ नम्बरको यात्रुबस आज बिहान लामोसाँघु–जिरी सडकखण्डअर्न्तगतको ६ किलोमा दुर्घटनामा परेको हो । सवारी चालक भने फरार भएकाले खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।

घुम्ती सडक रहेको उक्त स्थानमा बस सडकबाट खसेर तल्लो सडकमा पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । प्रहरीका अनुसार गाडी करिब सय मिटर तल खसेको थियो।

१२ जनाको दुर्घटनास्थलमै मृत्यु भएको हो भने एक बालकसहित अर्का २ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेहरुमा ३ जना बालकबालिका, ८ जना महिला र ३ जना पुरुष रहेको प्रहरीले जानकारी दिएको छ। मृतक १५ जना मध्ये ६ जनाकाे सनाखत भएको छ ।

मृत्यु हुनेमा सिन्धुपालचोक जुगल गाउँपालिका–७ का अन्दाजी २७ वर्षका सुक बहादुर तामाङ र सोही गाउँपालिकाका ७ वर्षीय सबिना तामाङ रहेका छन् । त्यसैगरी दोलखाको भिमेश्वर नगरपालिकाकी अन्दाजी ३७ वर्षीय जुनु माया तामाङ र सोही नगरपालिका–९ वर्ष २८ की मञ्जु तामाङको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

रामेछापको उमाकुण्ड गाउँपालिका–५ अन्दाजी २८ मेहेश तामाङ र भक्तपुर सूर्यविनायक नगरपालिका–८ का वर्ष ३२ का चिनु बस्नेतको पनि मृत्यु भएको छ । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय बाह्रबीसेका प्रहरी निरिक्षक नवराज न्यौपानेका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानमा ओभरटेक गर्नलाग्दा बस खसेको खुलेको छ । 

सहचालक विप्लव तामाङले टायरको हावा कम भएर दुर्घटना भएको हो प्रहरीलार्इ बयान दिएका छन् भने घाइते सिन्धु सदाबहार अस्पताल खाडिचौरमा उपचाररत घाइते सिन्धुपाल्चोक, जुगल गाउँपालिका–७ का धनदोर्जे तामाङले भने चालकले स्टेरिङ घुमाउन नसक्दा दुर्घटनामा परेको बताएका छन् । यद्यपी चालक फरार रहेकाले घटनाको हुनुको कारण अझै खुल्न सकेको छैन ।

bus

प्रतिक्रिया

सम्बन्धित