आन्दोलनबाट भविष्य बर्बाद नगर्न विद्यार्थीहरुलाई सीएमसीको आग्रह

cmc

  चितवन । चितवन मेडिकल कलेज (सिएमसी)ले आन्दोलनरत विद्यार्थीहरुलाई एक साता भित्र समायोजित शुल्कका बारेमा जानकारी लिन भन्दै आन्दोलनबाट आफ्नो भविष्य बर्बाद नगर्न आग्रह गरेको छ । कलेजले शनिबार प्रेस विज्ञप्ति जारी गरी ५ दिनभित्र समायोजित शुल्कको जानकारी लिन कैलाशनगरस्थित लेखा शाखामा सम्पर्क गर्न आग्रह गरेको छ ।

गत मंसिर १० मा सरकार र मेडिकल सञ्चालकबीच भएको दुई बुँदे सहमति कार्यान्वयनका लागि कलेजले अगाडि बढाएको प्रकृयालाई सहज बनाई समायोजनमा साथ दिन अभिभावक र विद्यार्थीहरुलाई अपिल समेत गरेको छ ।

कलेजले सरकारसँग भएको सहमतिभन्दा अगाडि बढेर अन्य स्नातक कार्यक्रमहरु नर्सिङ, पब्लिक हेल्थ, बी फार्मेसी, बीएमएलटी, बीएमआईटीमा पनि तोकेकोभन्दा बढी लिएको शुल्क समायोजन वा फिर्ता गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ ।

यस्तो छ सिएमसीले जनरी गरेको प्रेस विज्ञप्ति

चिकित्सा शिक्षाको शुल्क समायोजन विवादको सम्बन्धमा माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीज्यू, चिकित्सा शिक्षा आयोग, बिश्व बिद्यालयका पदाधिकारी र मेडिकल कलेज सञ्चालकबीच मिति २०७६ मंसिर १० गते शिक्षा मन्त्रालयमा भएको दुई बुँदे सहमती कार्यान्वयन गर्ने चरणमा चितवन मेडिकल कलेज अगाडि बढेको छ । पटक पटक हामीले पत्रकार सम्मेलन, सार्वजनिक सूचनामार्फत आफ्ना प्रतिवद्धताहरुसमेत व्यक्त गरेका छौ । आन्दोलरत विद्यार्थीहरुलाई आन्दोलनका कार्यक्रमहरु फिर्ता गरी शुल्क समायोजनको मुद्धालाई टुुंगो लगाउन यस कलेजले पटकपटक अनुरोध पनि गरेको छ ।

शिक्षा मन्त्रालयले समेत सार्वजनिक अपिल गरिसकेको छ । तर, विद्यार्थीहरुको असहयोगका कारणले शुल्क समायोजनको मुद्धालाई विश्वासको वातावरणमा टुुंग्याउने हाम्रो प्रयासले सार्थकता पाएको छैन । कलेजमा तालावन्दी गर्ने, परीक्षा बहिष्कार गर्ने, धम्काउने जस्ता क्रियाकलाप विद्यार्थीबाट हुँदा शुल्क समायोजनको प्रकृया अघि बढ्न सक्ने अवस्था पनि रहेन ।

सरकार हामी सबैको अभिभावक हो । सरकारले दिएको अनुमतिबाट चलेका हामी कलेजहरु उसले दिने निर्देशन, गर्ने नियमन र सहमतीभन्दा बाहिर जान सक्ने कुरा भएन । यो तथ्यलाई आत्मसाथ गरी नियमित शैक्षिक क्रियाकलापमा सहभागीभई शैक्षिक, प्रशासनिक र प्राज्ञिक कार्य सञ्चालनमा सहयोग गर्न अपिल गर्दछौ । साथै, बिद्यार्थीहरुलाई आन्दोलनमा नरमाउन, समयको ख्याल गरि परीक्षामा सहभागीभइ्र नियमित पठन पाठनमा पर्किन अनुरोध गर्दै कलेजका तर्फबाट पुनः एकपटक तपशिल बमोजिमका प्रतिवद्धता सार्वजनिक गर्न चाहान्छौं ।

१. शैक्षिकवर्ष २०७५/०७६ (प्रथमबर्ष) र २०७४/०७५ (दोस्रो बर्ष) को एम.बि.बि.एस र बि.डी.एस अध्ययनका लागि नेपाल सरकारले उपत्यकाबाहिर क्रमशः ४२ लाख ४५ हजार र १९ लाख ३२ हजार ६ सय १२ शिक्षण शुल्क कायम गरेकोमा सो रकमकोे पचास प्रतिशत (आधा हुन जाने) पहिलो किस्ताको शुल्क २१ लाख २२ हजार ५ सय र ९ लाख ६६ हजार ३ सय ६ लिइसकिएको छ । त्यस बाहेक केही अतिरिक्त शुल्क तिरि सकेकाको हकमा पहिलो किस्ताको शुल्कमा, त्रि.वि.रजिष्ट्रेसन शुल्क, काउन्सिल रजिष्ट्रेसन शुल्क, सम्वन्धित निकायले तोके बमोजिमको रकम समेत जोडेर अन्य बाँकी हुन आउने रकम आगामी किस्तामा समायोजन गरिने छ ।

२. यस कलेजमा सञ्चालित स्नातकतहका अन्य कार्यक्रमहरू (नर्सिङ्ग, पब्लिक हेल्थ, बि.फार्मेसी, बि.एम.एल.टी, बि.एम.आई टी) का हकमा त्रिभुवन बिश्वबिद्यालय तथा सम्वन्धित निकायले सम्वन्धन प्राप्त मेडिकल कलेजका लागि तोकेको भन्दा बढि लिएको शुल्क समायोजन वा फिर्ताको प्रक्रिया अगाडि बढाईएको जानकारी गराउँदछौं ।

३. शैक्षिकवर्ष २०७२/०७३ र २०७३/०७४ को हकमा बिश्वबिद्यालय तथा सम्वन्धित निकायको समन्वयमा अध्ययन, छलफल र छानविन गरि चिकित्सा शिक्षा आयोगले आवश्यक कार्य गरिरहेको हुनाले उक्त आयोगको निर्णय कार्यन्वयन गर्न प्रतिवद्व रहेको जानकारी गराइन्छ ।

४. नेपाल सरकार शिक्षा, बिज्ञान तथा प्रबिधीमन्त्रालयको छात्रावृत्तिमा अध्ययन गरिरहेका विद्यार्थीको शुल्क बिश्वबिद्यालय तथा सम्वन्धित निकायले तोकि पठाएअनुसार कार्यान्वयन गरिनेछ ।

५. अब उपरान्त त्रिभुवन विश्वविद्यालयले तोके अनुसार नियमित वार्षिक परीक्षा शुल्क लिईनेछ । परीक्षा सञ्चालनको लागि लाग्ने अन्य अतिरिक्त शुल्कका सम्वन्धमा सम्बन्धित निकायले तोके बमोजिम गरिने छ ।

६. त्रि.वितथाअन्य सरोकारबाला निकायले लिने वाबुझाएको अतिरिक्त शुल्क विश्वविद्यालयको समन्वयमा चिकित्सा शिक्षा आयोगवाट निर्णय भई आए वमोजिम गरिनेछ ।

समायोजित शुल्कको जानकारीको लागि सम्वन्धित बिद्यार्थीका अभिभावकहरूले यस मेडिकल कलेजको कैलाशनगरस्थित लेखा शाखामा सूचना प्रकाशित मितिले एक हप्ताभित्र सम्पर्क गर्नुहु नहार्दिक अनुरोध गर्दछौं ।

साथैं, सरकारसँग दुई बुँदे सहमती र त्यसभन्दा पनि अगाडि बढेर चितवन मेडिकल कलेजले अन्य शैक्षिक कार्यक्रमहरुमा समेत शुल्क समायोजन गर्ने प्रतिवद्धता मात्रै नभई कार्यान्वयन गर्ने चरणमा आएको ब्यहोरा सम्वन्धित सबैमा जानकारी गराउँछौं ।

अन्य भन्दा एक कदम अघि बढेर कलेजले देखाएको सदासयतालाई सम्पूर्ण बिद्यार्थी, अभिभावक, सरोकारवाला सबै निकायले सकारात्मक रुपमा लिइदिनुहुनेछ भन्ने अपेक्षा गरेका छौं । त्यसैले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता गरेर शैक्षिक, प्रशासनिक एवम् प्राज्ञिक क्रियाकलापहरु सुचारु गराउन सहयोग गर्न, बिश्वबिद्यालयका नियमित परिक्षाहरुमा सहभागीहुन र विश्वासको वातावरण तयार गरी शुल्क समायोजनको प्रक्रियालाई सहयोग गर्न हार्दिक अनुरोध गर्दछौं । साथै, सम्पूर्ण अभिभावक, नागरिक समाज, राजनीतिक दल, पत्रकार लगायत सम्पूर्णवाट सहयोगको अपेक्षा राख्दछौं ।
धन्यवाद
कलेज प्रशासन
मितिस् २०७६/८/२८

प्रतिक्रिया

सम्बन्धित