पौडेलको सहमतिमा कोइराला निवासमा तरूण दलको विशेष भेला

tarun dal

  काठमाडौं । लामो समयसम्म नेपाली कांग्रेस पार्टी सञ्चालन गरेको कोइराला परिवारले सुशिल कोइरालाको निधनसँगै पार्टीको नेतृत्व लिन सकेको छैन । सुशिल कोइरालाको निधनपछि शेरबहादुर देउवा पार्टी सभापति छन् ।

यतिबेला नेपाली कांग्रेसभित्र समयमै महाधिवेशन गर्नुपर्ने आवाट उठिरहेको छ । सभापति देउवाले २०७७ फागुनमा महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने गृहकार्य थालेका छन् ।

तर, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले त्यसको तीन महिनाअघि (मंसिर ५–८) नै केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरेको छ ।

सभापति देउवा र महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता पौडेल, नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलालगायतका नेताहरुबीच सहमति जुट्न नसकेर कार्यसमिति बैठक नै रोकिएको अवस्थमा वरिष्ठ नेता पौडेल पक्षधरले आफू पक्षीय तरूण नेता–कार्यकर्ताहरुको विशेष भेला बोलाएपछि पार्टीभित्र खैलाबैला मच्चिएको छ ।

कांग्रेस महामन्त्री शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा मंगलबार पौडेल पक्षधर नेता–कार्यकर्ताको विशेष भेला डाकिएको हो ।

कांग्रेसको युवा भातृ संगठन तरूण दल लामो समयदेखि विवादको दलदलमा फस्दै आइरहेको छ । विवाद चर्किएपछि अध्यक्ष जितजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीले एकअर्कालाई कारबाही गरेको घोषणासमेत गरेका थिए ।

आन्तरिक विवादका कारण तरुण दल केन्द्रीय कार्यसमितिको तीन वर्षे म्याद सकिएको छ ।

२०७३ मंसिर २ गते भागबण्डाका आधारमा तरुण दलको चार सदस्यीय कार्यसमिति घोषणा गरिएको थियो ।

जितजंग बस्नेतको अध्यक्षमा गठित कार्यसमितिको उपाध्यक्षमा उत्तम चापागाइँ, महासचिवमा भूपेन्द्रजंग शाही र कोषाध्यक्षमा विद्वान गुरुङ छन् ।

बस्नेत सभापति देउवा निकट हुन् भने शाही वरिष्ठ नेता पौडेल समूहका हुन् ।

तरुण दलको कार्यसमिति ९९ सदस्यीय हुनुपर्नेमा यही अपुरो कार्यसमितिले तीन वर्षे म्याद गुजारिसकेको छ । भेलाले तरुण दलको आगामी रणनीतिबारे तय गर्ने बताइएको छ ।

केन्द्रीय कार्यसमिति बैठकमा नेता रामचन्द्र पौडेललगायतका केन्द्रीय सदस्यहरूले बहिष्कार गर्दै आएपछि नेता कृष्णप्रसाद सिटौलाको आग्रहमा बैठक स्थगित नै भएको छ ।

असन्तुष्ट नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायतका केन्द्रीय सदस्यहरूले बिहीबार, आइतबार र सोमबारको केन्द्रीय कार्यसमिति बैठकसमेत बहिष्कार गरेपछि पूर्वमहामन्त्री सिटौलाको आग्रहमा बैठक २ पुससम्मका लागि स्थगित भएको थियो ।

नेता पौडेल र उनी पक्षधर असन्तुष्ट नेताहरूले पार्टीको १४औं महाधिवेशनको कार्यतालिका बैठकको एजेण्डामा नसमेटेको भन्दै बहिष्कार गर्दै आएका छन् ।

बिहीबार सुरु कार्यसमिति बैठकमा महामन्त्री कोइराला र अर्का महामन्त्री पूर्णबहादुर खड्कासमेत अनुपस्थित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित