नेकपामा समानान्तर कार्यालय, पूर्वएमाले हाबी

nekpa

 काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सिंहदरबारभित्र दुई वटा समानान्तर कार्यालय चलाएको छ । पूर्वएमालेहरू पुरानै संसदीय दलको कार्यालयमा अड्डा जमाएर बसेका छन् भने पूर्वमाओवादीले राष्ट्रिय सभागृहको सचिवालय रहेको भवन नम्बर २ मा अलग कार्यालय चलाएको छ ।

 पार्टी एकीकरण भएको यति धेरै समय भइसक्दा पनि एमाले र माओवादीहरूले अलग अलग दलको कार्यालय चलाएका हुन् । स्थान अभाव भएका कारण सिंहदरबारभित्र दुई वटा ठाउँमा कार्यालय राखिएको बताउने गरिएको छ । स्रोतका अनुसार पूर्वएमालेहरूले पुरानो ठाउँ छाड्न नमानेकाले समस्या आएको हो ।

 व्यवस्थापन गर्ने हो भने पूर्वएमालेको कार्यालय रहेको ठाउँमा पूर्वमाओवादीहरूलाई राख्न सकिन्छ । माओवादीहरू पनि एमाले नेताहरू बसेको ठाउँमा जान रुचाउँदैनन् । एमालेका नेताहरुमाथि माओवादी पृष्ठभूमि भएका नेताहरूलाई हेप्ने गरेको आरोप छ । सोही कारण पूर्व माओवादी सांसदहरूले पुरानो संसदीय दलको कार्यालय छाड्न नमानेका हुन् ।
संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवासचन्द्र नेम्वाङ, सचेतक शान्ता चौधरी र राष्ट्रियसभाका सचेतक खिमलाल देवकोटालगायत पूर्वएमालेबाट प्रतिनिधित्व गर्ने नेता पुरानै एमालेको संसदीय दलको कार्यालयमा रहन्छन् ।

 पूर्वमाओवादीका नेताहरू त्यहाँ रहँदैनन् । तत्कालीन माओवादीको संसदीय दलको कार्यालयमा प्रतिनिधिसभाका प्रमुख सचेतक देव गुरुङ र राष्ट्रियसभाका सत्तापक्षीय नेता दीनानाथ शर्मा संसद भवन २ मा रहँदै आएका छन् । यति मात्रै होइन कोटेश्वरको भवन पनि पूर्वमाओवादीहरूले छाडेका छैनन् । नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा छ । तर, पूर्व माओवादीका नेता तथा कार्यकर्ताहरूको बैठक कोटेश्वरमा बस्ने गरेको छ । एमालेका नेताहरू कोटेश्वरमा जाँदैनन् ।

 एमाले र माओवादीबीच पार्टी एकीकरण भएको डेढ वर्ष बितिसक्दा पनि बैंकखाता अझै एक हुन सकेको छैन । पार्टी सदस्यता, सांसद तथा मन्त्रीहरूले पार्टीलाई बुझाउने शुल्क अझै पनि तत्कालीन माओवादी र एमालेका अलग–अलग बैंक खातामा जम्मा भइरहेका छन् ।

 तत्कालीन माओवादी केन्द्रतर्फको रकम एभरेष्ट बैंक र ग्लोबल आइएमई बैंकको खातामा जम्मा हुँदै आएको छ । यो खाता हरिबोल गजुरेल, तत्कालीन मुख्य सचिव प्रल्हाद बुढाथोकी र लेखापालसहित तीनजनामध्ये दुईजनाको हस्ताक्षरबाट सञ्चालन भइरहेको छ । बैंकखातामा माओवादीतर्फका सांसदले मासिक १२ हजार, राज्य र सहायक मन्त्रीले १४ हजार, मन्त्रीले १६ हजार, उपप्रधानदेखि प्रधानमन्त्रीले १८ हजार लेबी जम्मा गर्नुपर्ने नियम छ ।

 तत्कालीन माओवादीतर्फका आठ मन्त्रीबाट १ लाख ४४ हजार तथा प्रतिनिधिसभाका ५३ र राष्ट्रिय सभाका १२ गरी कूल ६५ सांसदसहितबाट कम्तिमा मासिक ७ लाख ८० हजार रुपियाँ बैंक खातामा जम्मा भइरहेको छ । सांसद र मन्त्रीबाट काटिएको रकममध्ये प्रत्येकले २–२ हजार रुपियाँ बेपत्ता तथा सहिद परिवारका लागि खोलिएको खातामा जम्मा गरिँदै आएको छ ।
पार्टी एकीकरणका बेला माओवादीलाई लागेको १३ करोड बैंकको ऋण तिर्न पेरिसडाँडाको जग्गामध्ये ५४ आना २ पैसा २ दाम जग्गा धितोमा राखिएको छ । तत्कालीन एमालेले कालिमाटीस्थित राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमा सदस्यता शुल्क जम्मा गर्दै आएको छ ।

 प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले मासिक १५ र सांसदले १३ हजार रुपियाँ बुझाउँदै आएका छन् । प्रतिनिधिसभाका १ सय २१ र राष्ट्रियसभाका २७ गरी १ सय ४८ जना सांसदबाट कम्तिमा मासिक १९ लाख २४ हजार रुपियाँ संकलन हुँदै आएको छ । पार्टी कोटाबाट राजनीतिक नियुक्ति लिएका राजदूतदेखि शिक्षक र कर्मचारीले पनि मासिक लेबी तिर्दै आएका छन् । पार्टीका साधारण सदस्यताबाट मात्रै दैनिक चार लाखसम्म जम्मा हुन्छ ।

 पेरिसडाँडादेखि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयमा कार्यरत कर्मचारीले माओवादीको खाताबाट अलग्गै तलब लिँदै आएका छन् । पेरिसडाँडामा कार्यरत आठ तथा अध्यक्षको सचिवालयमा कार्यरतसहित झण्डै १५ जनालाई माओवादीले अलग्गै तलबभत्ता दिँदै आएको छ ।

 तलब भत्तामा अझै पनि एकरुपता छैन । त्यसबाहेक माओवादीका तर्फका कर्मचारीले अन्य सुविधा पाउँदैनन् । तत्कालीन एमालेतर्फका सबै कर्मचारीले मासिक २० हजार रुपियाँ तलब, भत्ता खान्छन् । उनीहरूको सञ्चयकोष पनि काटिन्छ । धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा झन्डै १९ जना कर्मचारी कार्यरत छन् । (यूनाइटेड पोस्ट साप्ताहिक )

प्रतिक्रिया

सम्बन्धित