फोरजी सञ्चालन गर्न नसकेपछि स्मार्टलाई एनसेलमा गाभ्ने योजना

काठमाडौं । स्मार्ट टेलिकम प्रालिले तोकिएको समय भित्र फोरजी सेवा सञ्चालन गर्न नसक्ने भएको छ । फोरजी सञ्चालनका लागि स्मार्टले पेश गरेको रोल आउट प्लानलाई स्वीकृत गर्दै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले गत जेठमा साउन १५ देखि फोरजी सञ्चालनमा ल्याउने गरी अनुमति दिएका थिए । तर, स्मार्टले गत मंगलबार प्राधिकरणलाई पत्र पठाई साउन १५ भित्र फोरजी सञ्चालन गर्न नसक्ने भन्दै म्याद थपका लागि निवेदन दिएको छ । फोरजी सञ्चालनका लागि आवश्यक सम्पूर्ण पूर्वाधार र आन्तरिक तयारी सकिसकेको भन्दै स्मार्टले निवेदन दिएको थियो ।

 स्मार्ट टेलिकमको एक हजार आठ सय मेगाहर्ज व्यान्डमा १२ मेगाहर्ज फ्रिक्वेन्सी छ । जसमध्ये पाँच मेगाहर्जलाई फोरजीमा उपयोग गर्ने योजना बनाएको थियो । स्मार्टले क्षेत्र विस्तार तथा गुणस्तरका सम्बन्धमा पनि प्राधिकरणले तोकेको मापदण्ड पूरा नगरेको प्राधिकरण स्रोतले बतायो । स्मार्टले फोरजी चलाउन नसकेपछि सञ्चार मन्त्रालयले फोरजी सेवाको उपकरण रोकेको भन्दै आरोप लगाउन थालेको छ । तर, त्यसमा कुनै सत्यता नभएको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

 यता, प्राधिकरणले स्मार्टले दिएको निवेदनमाथि छलफल गरेर समय थप्ने वा नथप्ने भन्ने विषयमा निर्णय गर्ने जनाएको छ । स्मार्ट टेलिकमका सञ्चालकसँग प्राधिकरणका अध्यक्ष झाको ठूलो आर्थिक स्वार्थ रहेको हुँदा उनले स्मार्टलाई फाइदा पुग्ने गरी निर्देशन दिन लागको बुझिएको छ । फोरजी चलाउन नसक्ने स्मार्टलाई प्राधिकरणका अध्यक्ष झाले ६ र ७ प्रदेशमा उल्टै अप्टिकल फाइवर बिच्छ्याउन तीन अर्वमा टेण्डर स्वीकृत गराएका थिए । जवकि १, २ र ३ प्रदेशमा त्यहि अप्टिकल बिच्छ्याउन नसक्दा नेपाल टेलिकमलाई प्राधिकरणले कारबाही गर्न लागेको छ ।

  टेलिकमलाई प्राधिकरणले ३० दिने अल्टिमेटम दिएको छ । स्मार्ट टेलिकमले प्राधिकरणलाई कार्य विवरण पेश नगरेको र रोयल्टी तथा नविकरण दस्तुरमा पनि मिनाहा गराउन खोजेको स्रोतले बतायो । त्यसो त एनेसेलका २० प्रतिशत नेपाली लगानीकर्ता शतिसलाल आचायले आफ्नो भित्री रुपमा लगानी रहेको स्मार्ट टेलिकमलाई एनसेल भित्र गाभ्न खोजेको समेत चर्चा चल्दै आएको छ ।

  एनसेलका विटिएस टावर, उपकरण र विभिन्न पूर्वाधारहरु स्मार्ट टेलिकमले प्रयोग गर्दै आइरहेको छ । यसरी अर्कै कम्पनीको पूवाधार प्रयोग गर्दा सरकारलाई अरबौं राजश्व घाटा भएको भन्दै दूरसञ्चार प्राधिकरणले आफ्नै पूर्वाधारहरु बनाउन स्मार्टलाई निर्देशन दिएको थियो । तर, सतिशलालले त्यसको निर्देशन पालना नगरि एनसेललाई कमजोर बनाएर स्मार्टलाई नै एनसेल भित्र गाभ्ने योजना बनाएका थिए ।

  एनसेलको ३५ अर्व लाभकर प्रकरणका मुख्य दोषी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले एक्जियटाको साझेदार बनेका आचार्यको स्मार्ट टेलिकममा ३० प्रतिशत शेयर बिक्री गर्दा ठूलो आर्थिक चलखेल गरेका थिए । एनसेलमा स्मार्टलाई गाभेर ५० प्रतिशत सेयर हात पार्न आचार्यको समूह शुरु देखि नै लाग्दै आएको छ ।

  स्मार्टमा तीन साझेदारमध्ये एक लालसाहु डिष्ट्रिब्युटर्ससँग भएको शेयर सतिशले सेसिल्सको कस्बो इन्भेष्टमेन्ट लिमिटेडलाई बिक्री गर्दा लोकमानको अनुमती लिए पनि उद्योग विभागलाई गुमराहमा राखेका थिए । पछि स्मार्टमा भएको ९६ हजार कित्ता शेयर प्रतिकित्ता सय रुपैयाँमा बिक्री गर्न लागेको जानकारी उद्योग विभागलाई दिएका थिए । स्मार्टमा भएको लाल साहु डिष्ट्रिब्युटरको शेयर एनसेलको डिल मिलाउनकै लागि लोकमानले चलखेल गरेका थिए ।

  लोकमानकै मिलेमतोमा १० अर्व पर्ने स्मार्टको ३० प्रतिशत शेयरको भ्यालुएशन ९६ लाख रुपैयाँ मात्रै कायम गरी अर्वौ राजस्व छली गरिएको थियो । शतिशले एनसेलमा क्रस होल्डिङ छलेको देखाउन लालसाहुको सेयर सिंगापुरकै नागरिक नियो काये रुवेनको नाममा नामसारी गरेका थिए । तर, त्यो सेयर भने भित्री रुपमा सतिशकै रहेको उद्योग विभागका कर्मचारीहरु अहिले पनि बताउँछन् ।

  दूरसञ्चार क्षेत्रमा माफियाका रुपमा परिचित भावना श्रेष्ठका श्रीमान सतिश र उनका भाइ सचिनलालले नेपालदेखि अफ्रिकासम्मका अविकशित देशहरुमा दूरसञ्चारको लाइसेन्स ओगटेर बसेका छन् । दूरसञ्चार ऐनमा एउटै कम्पनीले क्रस होल्डिङ गरी दुईवटा कम्पनीमा संलग्न भएर व्यापार गर्न मिल्दैन । तर, आचार्य दाजुभाइले भित्रिरुपमा स्मार्ट टेलिकममा लगानी गरेका छन् भने अर्कोतिर एनसेलमा आफ्नै परिवारको नाममा शेयर खरिद गरी दोहोरो कारोबार गरेर क्रस होल्डिङ गरेका छन् ।

  सर्वसाधरण जनताले आफ्नो बैंक खातामा १० लाख रकम जम्मा गर्दा आयस्रोत देखाउनु पर्ने राष्ट्रबैंकको नियम छ । तर, भावना र सतिशलालले ३४ अर्वमा एनसेलको २० प्रतिशत सेयर खरिद गर्दा कहाँबाट त्यत्रो रकम ल्याए ? यसबारेमा न त राष्ट्रबैंकले छानविन गर्न सकेको छ न त अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति सुद्दिकरण विभागले नै । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित