देउवाको भारत भ्रमणमा सन्धि-सम्झौता कार्यान्वयनको समीक्षा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमण नेपाल-भारतबीच विगतमा भएका सहमति र सम्झौता कार्यान्वयन समीक्षामा केन्द्रित हुने भएको छ । परराष्ट्र मन्त्रालय अधिकारीका अनुसार विगतमा भएका सन्धि-सम्झौताको कार्यान्वयन समीक्षा र द्विपक्षीय संयन्त्रलाई सक्रिय बनाउने विषयमा भ्रमणमा छलफल हुनेछ ।

 देउवा अगस्ट तेस्रो साता भारत जाने भनिए पनि ठोस मिति तय भइनसकेको अधिकारीहरू बताउँछन् । भ्रमणका एजेन्डाबारे छलफल गर्न यही साता परराष्ट्र, अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालय र भौतिक योजना मन्त्रालयका अधिकारीहरूको बैठक बसेको थियो । ‘कुन(कुन विषय भ्रमणमा प्राथमिकता दिने भन्नेबारे सामान्य छलफल भएको छ', बैठकमा सहभागी अर्का एक अधिकारीले भने, ‘भ्रमणका एजेन्डा तय भइसकेका छैनन् ।' ती अधिकारीका अनुसार भारतीय लगानीमा नेपालमा सञ्चालित परियोजनामा देखिएका समस्या, द्विपक्षीय परियोजना कार्यान्वयनमा आएका समस्यालगायतबारे पनि बैठकमा चर्चा भएको थियो ।

 भारत -नेपालबीच ‘पेन्डिङ' रहेका परियोजनालाई प्रधानमन्त्रीको भ्रमणमा टुंग्याउन सकिने विषयमा छलफल भए पनि निष्कर्ष निस्केको छैन । भारतले नेपालको पुनर्निर्माणका लागि वाचा गरेको एक अर्ब अमेरिकी डलर सहायताको परिचालन हुन नसकेको, भारतीय सहयोगमा बन्ने भनिएको नेपाल प्रहरी एकेडेमी बन्न नसकेको, पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार हुन नसकेकोलगायत मुद्दा नेपालले प्रधानमन्त्रीको भ्रमणमा उठाउने अधिकारीहरू बताउँछन् ।

 भारतीय विदेशमन्त्री सुष्मा स्वराजको आसन्न नेपाल भ्रमणअघि प्रधानमन्त्रीको भ्रमण गर्ने या पछि गर्ने भन्ने द्विविधाबीच तयारी अघि बढाइएको अधिकारीहरू बताउँछन् । स्वराज क्षेत्रीय संगठन बिमस्टेकको विदेशमन्त्रीस्तरीय बैठकमा भाग लिन अगस्ट १० र ११ मा नेपाल आउने तयारीमा छिन् ।

प्रतिक्रिया

सम्बन्धित