राजपाभित्र तीन करोड काण्ड

rajapaa

 काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)मा राष्ट्रियसभाको निर्वाचनको टिकट वितरणमा चार जना नेताहरूले तीन करोड रुपियाँ लिएको भन्दै हँगामा शुरु भएको छ ।

 राजपाका नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिलकुमार झामाथि शेखर सिंहलाई टिकट दिने क्रममा तीन करोड रुपियाँ लिएको आरोप लागेको छ । आरोप पुष्टि हुने आधार नभएपनि राजपाको बबरमहलस्थित पार्टी मुख्यालयमा सिंहसँग तीन करोड रुपियाँ लिएको आरोप लागेको हो ।

 पुस १७ गते साँझ काठमाडौंको गौशालास्थित होटेल महाराजामा राजेन्द्र महतो, राजकिशोर यादव, शरतसिंह भण्डारी र अनिलकुमार झा तथा शेखर सिंहवीच गोप्य वार्ता भएको थियो । सोही होटेलमा सिंहले तीन करोड दिएको चर्चा बबरमहलमा छ । राजावादीको आरोप लाग्दै आएका सिंह सप्तरी जिल्ला निवासी हुन् ।

 सिंह र पूर्वराजा ज्ञानेन्द्र शाहवीच अहिले पनि सम्पर्क हुने गरेको स्रोतको भनाई छ । सिंहले नै तत्कालीन राजदरबारमा सूचनाहरू पु-याउने गरेको आरोप छ । सिंहलाई राजपाभित्र राजाको ‘सुलसुले’ भनेर चिन्ने गरिएको छ । सिंहका छोरा सतिश सिंह सप्तरीका तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष छन् । उनी राजपाबाट टिकट पाएर निर्वाचित भएका हुन् ।
राष्ट्रिय सभाको टिकट पाएका सप्तरी घर भएका अर्का नेता मृगेन्द्र सिंह यादव पनि पञ्चायतका बेला राष्ट्रिय पञ्चायतको सदस्य थिए ।

राजदरबारसँग राम्रो सम्बन्ध रहेका यादव तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा विजय गच्छदारको पार्टीबाट कृषिमन्त्री समेत भएका थिए । राजा ज्ञानेन्द्र शाहको पालामा यादव मध्यपश्चिमाञ्चलको क्षेत्रीय प्रशाक समेत भएका थिए ।

 शेखर सिंह र मृगेन्द्र सिंह यादव राजपाभित्र अबसरवादीका रुपमा चिनिन्छन् । उनीहरू व्यक्तिगत स्वार्थका लागि जेपनि गर्न सक्ने नेताका रुपमा परिचित छन् । राष्ट्रिय सभाको टिकट पाउन उनीहरूले हदैसम्मको हर्कत देखाएका थिए । शेखरसिंहलाई शरतसिंह भण्डारीको साथ छ ।

 मृगेन्द्र सिंह यादवलाई राजेन्द्र महतोको आशीर्वाद रहेको छ । यी दुबैलाई टिकट दिइएकोमा महन्थ ठाकुर र महेन्द्र राय यादवले विरोध गर्दै आएका छन् । महन्थ र महेन्द्रले शेखर र मृगेन्द्रलाई टिकट दिने पक्षमा थिएनन् । तर, अन्य चार जना नेताहरूको दवावका सामू केही चलेन । राजपाबाट टिकट पाएका दुबै नेताहरू अण्डर एसएलसी हुन् । 

(यूनाइटेड पोस्ट साप्ताहिक )

 

प्रतिक्रिया

सम्बन्धित