दीपिकाको ‘छपाक’ प्रदर्शन रोक

dipika

  काठमाडौं । अभिनेत्री दीपिका पादुकोणको शुक्रबार रिलिज फिल्म ‘छपाक’ दिल्लीमा प्रदर्शन गर्न रोक लगाइएको छ।

जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) मा भएको हिंसात्मक हमलाविरूद्ध ऐक्यवद्धता जनाउँदै आएकी अभिनेत्री पादुकोणको फिल्ममा ‘क्रेडिट’ नदिएको भन्दै रोक लगाइएको हो ।

केही समयअघि हालिएको एक उजुरीमा फैसला सुनाउँदै दिल्ली उच्च न्यायालयले फिल्म रिलिज भएको दुई दिनपछि प्रदर्शनमा रोक लगाएको छ ।

आदेशअनुसार फिल्म १५ जनवरीबाट मल्टिप्लेक्स, अनलाइन प्लेटफर्म र १७ जनवरीदेखि कुनै पनि ठाउँमा प्रदर्शन हुने छैन।

अधिवक्ता अपर्णा भट्टलाई फिल्ममा ‘क्रेडिट’ नदिएको भन्दै दिल्ली न्यायालयले प्रदर्शनमा रोक लगाउन आदेश दिएको हो।

अपर्णा भट्ट तेजाब हमलाकी पीडित लक्ष्मी अग्रवालकी अधिवक्ता हुन्। फिल्म ‘छपाक’ लक्ष्मी र अन्य तेजाब पीडित महिलाहरूको जीवनबाट प्रेरित छ।

यसअघि पटियाला अदालतले पनि निर्मातालाई ‘अधिवक्ता अपर्णालाई क्रेडिट दिनू’ भनेको थियो।

दिल्लीको पटियाला अदालतले निर्माण कम्पनीलाई फिल्ममा ‘अपर्णा भट्ट महिलाहरूमाथि भइरहेको शारीरिक र यौन अपराधका विरूद्ध लडिरेहकी छन्’ भन्ने पंक्ति राख्न आदेश दिएको थियो।

फिल्म निर्माण कम्पनी फक्स स्टुडियोले यो निर्णय उल्टाउन उच्च अदालतमा निवेदन दिएको थियो।

सुनवाइ बेला निर्माता टोलीले फिल्ममा अपर्णा भट्टलाई श्रेय दिनुपर्ने गरी उनको कुनै कानुनी अधिकार नभएको बताए पनि दिल्ली न्यायालयले पुरानै फैसला सुरक्षित राख्दै निर्देशक मेघना गुलजार र टिमलाई अपर्णालाई क्रेडिट दिने आदेश दिएको हो।

दीपिकाले आफू जेएनयूमा उपस्थित भएर विद्यार्थीहरूमाथिको हमलाको विरोध गरेकी थिइन्। त्यसयता उनको फिल्मको बहिस्कार गर्न मोदी समर्थकहरूले सामाजिक सञ्जालमा ट्रेन्ड नै सुरू गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित