दुई मन्त्री पद खाली राखेर पार्टीको निर्देशन विपरित चार राज्यमन्त्री थप्दै मुख्यमन्त्री राई

pradesh 1

  काठमाडौं । खाली रहेको दुई पदमा मन्त्री नियुक्त गर्न नसकेका मुख्यमन्त्री शेरधन राईले पार्टीको निर्देशन विपरित चार राज्यमन्त्री थप्ने तयारी गरेका छन् । प्रदेश नम्बर १ सरकारमा दुई वर्षदेखि दुई मन्त्री पद नै खाली छ ।

एक नम्बर प्रदेशमा सात वटा मन्त्रालय छन् । मुख्यमन्त्री शेरधन राईले भौतिक योजना तथा पुर्वाधार विकास र भूमि, कृषि तथा सहकारी मन्त्रालय आफैं हेर्दै आएका छन् ।

मुख्यमन्त्री राईले ओखलढुंगाका अम्बिर गुरुङ, इलामका राम राना, झापाकी जसमाया गजमेर र मोरङका विजय विश्वासलाई राज्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका हुन् ।

सम्भवत चारैजनालाई आइतबार अपराह्न सपथ ग्रहण गराउने तयारी भइरहेको स्रोतले बताएको छ ।

मुख्यमन्त्री शेरधन राईले जसमाया गजमेरलाई सामाजिक विकास मन्त्रालय, अम्बिर गुरुङलाई भौतिक पूर्वाधार, राम रानालाइ भूमि कृषि तथा सहकारी मन्त्रालय र विजय विश्वासलाई पर्यटन मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी दिने तयारी गरेका छन् । यीमध्ये विश्वास पूर्वमाओवादी हुन् भने अरू सबै पूर्वएमाले हुन्।

व्यापारी गुरुङ ओखलढुंगा प्रदेश निर्वाचन क्षेत्र १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । मुख्यमन्त्रीको विश्वासपत्र मानिएका गुरुङलाई भौतिक पूर्वाधार मन्त्रालयको राज्य मन्त्री बनाउन लागिएको हाे ।

शनिबार मात्र पार्टीको प्रदेश कमिटीले खाली रहेका मन्त्रालयमा मन्त्री नियुक्त गर्न निर्देशन दिएको थियो । तर, मुख्यमन्त्री राईले भने मन्त्री खाली राखेर राज्यमन्त्री नियुक्त गर्न लागेका हुन् ।

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनु अघि नै यी दुई मन्त्रालयमध्ये भौतिक एमाले र कृषि माओवादीको भागमा परेको थियो ।

तर, पार्टी एकता भइसके पछि पार्टीले टुंगो लगाउन नसक्दा यी मन्त्रालयमा मन्त्री नियुक्ति भएका छैनन्। दुई मन्त्री पद नै खाली रहेको अवस्थामा मुख्यमन्त्री राईले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका हुन्।

प्रतिक्रिया

सम्बन्धित