माओवादी केन्द्रको केन्द्रीय समितिको आकार घट्ने, अन्तरघात गर्ने माथि कडा कारवाही

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा पार्टीको नीति र सिद्धान्त विपरित गएर चुनावमा अन्तरघात गर्ने जुनसुकै तहका नेता तथा कार्यकर्तालाई कडा कारबाही गर्ने नीति अख्तियार गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सम्पन्न पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले अन्तरघात गरेका पार्टीका नेता–कार्यकर्तामाथि कारबाही गर्ने निर्णय गरेको हो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भन्नुभयो, “अप्ठ्यारो समयमा ‘बागी उम्मेदवार बन्ने, अन्तरघात गर्ने र विपक्षी पार्टीको पैसा लिएर पार्टीमाथि घात गर्नेलाई कारबाही हुन्छ । अब छुट दिन सकिँदैन ।”अध्यक्ष दाहालले निर्वाचन सम्पन्न भएका छवटै प्रदेशमा तीन/तीन सदस्यीय कार्यदल बनाएर उनीहरुमाथि छानबिन गरिने र दोषी पाइए कारबाही हुने बताउनुभयो । बैठकमा अध्यक्ष दाहालले भन्नुभयो, “मुलुकका विभिन्न स्थानबाट अन्तरघात, पार्टी नीतिविरुद्धको गतिविधि भएको उजुरी आएको छ, अब सत्य तथ्य छानबिन हुन्छ र उनीहरुमाथि कारबाही हुन्छ ।”

दुई नम्बर प्रदेशको भेला साउन १० गते स्थानीय तहको निर्वाचन हुन बाँकी रहेको प्रदेश नं २ को निर्वाचन परिचालनलाई व्यवस्थित बनाउन माओवादी केन्द्रले यही साउन १० गते भेला आयोजना गर्ने निर्णय गरेको छ ।

कुल १२७ स्थानका लागि हुने सो प्रदेशमा कम्तीमा पनि ५० भन्दा बढी स्थानमा विजयी हुनै पर्ने निष्कर्षमा साथ भेला आयोजना गर्न लागिएको माओवादीले जनाएको छ । भेलामा प्रदेश नं २ का जिल्ला तहसम्मका नेता तथा कार्यकर्ता सहभागी हुनेछन् ।

भेलाले निर्वाचन परिचालन, उम्मेदवारी चयन तथा पार्टीको आन्तरिक तथा बाह्य तयारीका सन्दर्भमा निर्णय गर्नेछ । त्यसबाहेक राम्रो जित भएका जिल्लामा त्यहाँका मतदातालाई सङ्गठनमा ढाल्न नीति बनाएर लागू गर्ने माओवादी केन्द्रले बताएको छ । भेलाको स्थान भने प्रदेश समितिले तय गर्नेछ ।

निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण स्थानीय तहमा माओवादी केन्द्रका तर्फबाट विजयी भएकालाई जनताको पक्षमा कसरी काम गर्ने भन्ने प्रशिक्षण दिन भेला आयोजना गरिएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट विजयी भएकालाई अन्य पार्टीको भन्दा फरक कार्यशैलीका साथ काम गर्नसक्ने बनाउने तथा माओवादी केन्द्रको योजना, कार्यक्रम, नीति कस्तो हो भन्ने बुझाउनका लागि भेला जरुरी रहेको बैठकमा कुरा उठेपछि भेला आयोजना गरिएको सो पार्टीले जनाएको छ । त्यस्तो भेला यही साउन २० देखि २२ गतेसम्म पार्टीका तर्फबाट आयोजना गरिनेछ । भेलाको स्थान भने पछि तय गरिनेछ । केन्द्रीय समितिको आकार घट्ने ‘जम्बो’ केन्द्रीय समिति भएका कारण कामकाजी नभएको तथा प्रभावकारी हुन नसकेको भन्दै अध्यक्ष दाहालले समितिको आकार घटाउने जानकारी दिनुभएको छ । बैठकमा नेताहरुले भद्दा साङ्गठिन संरचनाका कारण परिचालनमा समस्या भएको भन्दै नेतृत्वको चर्को आलोचना गरेपछि सबै प्रदेशबाट सो सन्दर्भमा निर्णय गराएर केन्द्रीय कार्यालयले दुई अङ्कको केन्द्रीय समिति बनाउने अध्यक्ष दाहालले स्पष्ट पार्नुभयो ।माओवादी केन्द्रले महाधिवेशन आयोजक समिति भन्दै करिब चारहजार जनाको केन्द्रीय समिति बनाएको थियो । उक्त समितिको बैठक हालसम्म बस्न सकेको छैन । अध्यक्ष दाहालले सरकारमा बसेर राम्रा काम गरेको र आफ्नो एजेण्डा समेत हरणमा पर्ने अवस्था देखिएको भन्दै आगामी दिनमा त्यस्तो हुन नदिइने बताउनुभयो । उहाँले त्यसका लागि नयाँ रणनीति बनाउने र कार्यान्वयन गरेरै छाडिने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित