श्रेष्ठको सफाईले बैंकिङ्ग क्षेत्रमा माफिया हावी, गभर्नर बन्न चिन्तामणीको लबिङ

shiva raj and chintamani

 काठमाडौं । काण्डै काण्डमा तानिएका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई मन्त्रिपरिषद्ले निर्दोष भन्दै सफाई दिएपछि राष्ट्र बैकभित्र हंगामा मच्चिएको छ ।

 खराब कर्जा लुकाउन सहयोग गरेको, बैकिङ माफियालाई संरक्षण गरेको, सर्वोच्च अदालतले फैसला नपुग्दै विभिन्न व्यक्तिले विदेशबाट ल्याएको पैसा निकाल्न सहयोग गरेको तथा एनसेलको कर लैजान सहयोग गरेको खुलेपछि डेपुटी गभर्नर श्रेष्ठ कारबाही स्वरुप निलम्वनमा परेका थिए । श्रेष्ठविरुद्ध विभिन्न निकायमा दर्जनौं उजुरी परेका थिए ।

 जसका कारण मन्त्रिपरिषद्ले श्रेष्ठमाथि छानबिन गर्ने गरी निलम्बन गरेको थियो । त्यसकै आधारमा गत कात्तिक १८ गते मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंककै सञ्चालक श्रीराम पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन ग-यो ।

 पौडेल नेतृत्वको समितिको प्रतिवेदनले श्रेष्ठलाई सम्पत्ति शुद्धीकरणको अभियोगमा कारबाही गर्न सिफारिस गरेको थियो । तर पुस २८ को मन्त्रिपरिषद् बैठकले एकाएक श्रेष्ठलाई सफाइ दिएपछि बैंकिङ क्षेत्रमा माफियाहरु हाबी भएको पुष्टि भएको छ ।

 स्रोतका अनुसार खराव कर्जा प्रवाह गर्ने गिरोहले श्रेष्ठलाई जोगाउनका लागि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद लामिछानेलाई हालतमा लिएका थिए । लामिछानेलाई गभर्नर बनाउने आश्वसन दिएर उनीहरुले श्रेष्ठलाई जोगाउन चलखेल गरेका थिए ।

 त्यसका लागि एक मिडिया सञ्चालक समेत हात धोएर लविङमा लागेका थिए । 

 निलम्बित डेपुटी गभर्नर श्रेष्ठमाथि प्रभुलगायतका विभिन्न बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको खराब कर्जा ढाकछोप गर्न सघाउ पु-याएको र वित्तीय अपचलनमा संलग्न बैंकर्सहरूलाई कारबाही नगरी सम्बन्ध बढाएर संरक्षण गरेको आरोप लागेको थियो । निलम्वित श्रेष्ठको प्रभु, प्राइम, एनसीसी, कैलाशलगायतका बैंकका सिइओहरुसँग साँठगाँठ रहँदै आएको छ ।

 निलम्वनमा पर्नु अघि डेपुटी गभर्नर श्रेष्ठले राष्ट्र बैंकमा खराव कर्जा र वित्तीय अपचलनमा उजुरी परेका बैंकका सिइओहरुलाई कार्यालयमै बोलाएर जोगाउने नाममा अवैध असुली गरेको आरोप लागेको थियो । राष्ट्र बैंक स्रोतका अनुसार श्रेष्ठले आफू कारबाहीमा परे अन्य डेपुटी गभर्नरहरुको काण्ड पनि बाहिर ल्याइदिने चेतावनी दिंदै आएका थिए ।

 त्यसो त श्रेष्ठको फुकुवासँगै राष्ट्र बैंकका अर्का डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी दुई महिना पछि गभर्नर बन्ने संभावना न्युन बन्दै गएको टिप्पणी हुन थालेको छ । कारबाहीबाट जोगिएका श्रेष्ठपनि गभर्नरको दाबी गर्न थालेका छन् भने सिवाकोटीले आर्थिक बिटका पत्रकारहरुलाई बोलाएर आफ्नो पक्षमा लबिङ शुरु गरेका छन् ।

 अर्कोतर्फ गभर्नरनका लागि राष्ट्र बैंककै कार्यकारी निर्देशकबाट अवकाशप्राप्त भाष्करमणी ज्ञवाली, सुवोधकुमार कर्ण, बासुदेव अधिकारी, डा. मिनबहादुर श्रेष्ठलगायतले लविङ गरिरहेका छन् । तर, बैंकिङ माफियाहरुको समूह भने कुनै पनि हालतमा महाप्रसादलाई गभर्नर बनाउने योजनामा छ । (यूनाइटेड पोस्ट साप्ताहिक )

प्रतिक्रिया

सम्बन्धित