महाराजको ठगी धन्दामा उपराष्ट्रपति साक्षी बसेनन्, सहभागी नभई फर्किए

maharaj

 भरतपुर । आफूलाई बालयोगेश्वर महाराज बताउँदै ठगी धन्दा चलाएका विजय भण्डारीबारे समाचार प्रकाशन भएपछि प्रमुख अतिथिको हैसियतमा महायज्ञको उद्घाटन गर्न चितवन पुगेका उपराष्ट्रपति नन्दबहादुर पुन कार्यक्रममा सहभागी नभई शनिबार काठमाडौं फर्किएका छन् ।

 २५ करोड रुपैयाँ उठाउने लक्ष्य राखेर आयोजना गरिएको एक महिने यज्ञका मुख्य वक्ता नै ठगी पृष्ठभूमिका भएको खबर सार्वजनिक भएपछि उपराष्ट्रपति विवादमा तानिने भन्दै फिर्ता भएका हुन् । उपराष्ट्रपति फिर्ता भएपछि निर्धारित समयभन्दा ढिलो गरी यज्ञ सुरु गरिएको थियो । चितवन जिल्ला समन्वय समितिकी उपाध्यक्ष मुनाकुमारी श्रेष्ठले महायज्ञ उद्घाटन गरिन् । उपाध्यक्ष श्रेष्ठले उपराष्ट्रपति आउने भनेर पत्राचार गरिएको कार्यक्रममा समिति प्रमुखले नभ्याउने भएपछि आफू पुगेको बताइन् ।

उनले अचम्म मान्दै सुनाइन्, ‘प्रतीक्षा गर्दागर्दा उपराष्ट्रपति नआएपछि मलाई नै प्रमुख अतिथि बनाइयो ।’ कार्यक्रममा बसुन्जेल महानगरका प्रतिनिधि र जिल्लास्थित पार्टीका प्रतिनिधि कोही नदेखेपछि के भयो, कसो भयो भन्ने आफूलाई खुल्दुली लागेको उनले सुनाइन् । उनले भनिन्, ‘मैले म प्रमुख अतिथि बन्नका लागि आएकै हैन भनें तर उद्घोषकले मलाई नै प्रमुख अतिथि भनेर नाम घोषणा गरिहाल्नुभयो । भएको यही हो ।’

उद्घाटन कार्यक्रममा बालयोगेश्वर महाराज बताउने विजयले ऐतिहासिक कोटीहोम महायज्ञलाई नजरअन्दाज गरेर, कमजोर सम्झेर असफल पार्ने प्रयासलाई निर्मूल पारिने बताए । उद्घाटन भाषणको अधिकांश समय उनले सञ्चारमाध्यममा आफ्नाबारेमा आएका समाचारको घुमाउरो भाषामा खण्डन गर्दै त्यसलाई धर्ममाथिको प्रहारका रूपमा अर्थ्याए ।

उनले चितवन आएका उपराष्ट्रपति किन उद्घाटन नगरी फर्किए भन्नेबारे महायज्ञ समारोह समापनका बेला प्रस्ट पार्ने र विज्ञप्ति निकाल्ने पनि बताए । ‘कोटीहोम महायज्ञलाई असर पार्ने प्रयास जसले गर्छ, त्यसको परिणाम भगवान्ले देख्नुहुनेछ, हामीले केही गर्नुपर्दैन,’ उनले भने, ‘बाटामा हिँडदै गर्दा धेरै कुकुर भुक्ने गर्छन् । प्रत्येक कुकुरलाई हान्दै गयौं भने पन्छाउँदै हिँड्दा वास्तविक गन्तव्यमा पुग्न सकिँदैन । तसर्थ हामी आफ्नो यात्रा गरिराख्छौं । हाम्रो महायज्ञ चलिराख्छ ।’

आफूकेन्द्रित समाचारहरूलाई संकेत गर्दै उनले धर्ममाथिको प्रहारका रूपमा लिएर खबरदारी गर्ने बताए । उनले चितवनमा अर्को काण्ड नदोहरियोस् भनेर भगवान्सँग प्रार्थना गरेको बताए । ‘यसअघि चितवनमा धेरै काण्ड भए, तिनले कस्ता परिणाम ल्याए ? फेरि अर्को काण्ड भए हामी भ्रममा पर्ने छौं । धर्मका लागि ठूलो हानि हुनेछ,’ उनको भनाइ थियो । यज्ञ आयोजक समितिका प्रवक्ता दिलीप न्यौपानेले ‘महाराज’ विरुद्ध कसले र किन समाचार लेखाएको हो भन्नेबारे आफूलाई राम्रोसँग थाहा भएको बताए । उनले पुरानो घटनाको विषयमा किन समाचार लेखिएको भन्ने प्रश्न गर्दै यज्ञ असफल पार्ने षड्यन्त्र भएको दाबी गरे । यस्तो षड्यन्त्र कसरी र कसले गरायो भन्नेबारे उनले बताउन मानेनन् । (कान्तिपुर )

प्रतिक्रिया

सम्बन्धित