यातायातका कर्मचारीको मिलेमतोमा पोखरामा चोरी बाइकको कारोबार

यदुनाथ बन्जरा/  पोखरा । यातायात व्यवस्था कार्यालयमा दार्ता भएको बाइक नै चोरीको भएपछि सर्वसाधरणले कती सास्ती भोग्नु पर्ला ? त्यसको कुनै लेखाजोखा नै छैन । सरकारी कर्मचारीले अञ्चलीकरण गर्दा समेत उक्त बाइक चोरीको हो भन्ने पत्ता लगाउन नसक्दा पीडित झन पिडामा परिरहेका छन् । केही सरकारी कर्मचारीको मिलेमतोमा उक्त बाइक दर्ता गरिएको भए पनि उनीहरुको प्रयास असफल भएको छ ।

 कुरा हो यातायात व्यवस्था कार्यालय गण्डकीको । गत जेठ २३ गते धौलागिरी अञ्चल यातायात व्यवस्था कार्यालय बाग्लुङबाट सरुवा सहमती भएर आएको ध१प ६४९६ नम्वरको रोयल इन्फ्लैण्ड वुलेट मोटरसाइकल गण्डकी अञ्चलमा दर्ताका लागि पेश भयो । प्राविधिक जाँच भयो । दर्ता फाँटका कर्मचारीहरुले पनि कागज पाइल पढे र जेठ २६ गते ग२३प ५८२५ नम्वरमा उक्त मोटरसाइकल दर्ता भयो । छोटी भन्सार कार्यालय गुलरियाबाट लिलाम भई आएको कागज पत्रका आधारमा धौलागिरी अञ्चलमा सरुवा सहमती भई दर्ता गरिएको उक्त मोटरसाइकल गण्डकीमा दर्ता भएको एक महिना पछि चोरीको वाइक रहेको खुलेको छ ।

 दर्ता भइसकेको मोटरसाइकल दर्ताका लागि पेश गरिएका कागज नक्कली रहेको सुराक पाएपछि यातायात व्यवस्था कार्यालय गण्डकीले सो वाइकको खरिद कर्ता, विक्री कर्ता र वाइक समेत पक्राउ गर्न ट्राफिक प्रहरी कार्यालय कास्कीलाई पत्राचार गरेको छ । ग१३प ५८२५ नम्वरमा दर्ता भएको २०१६ मोडलको वुलेट क्लासिक ३२५ मोटरसाइकल गुलरिया नगरपालिका–१ वर्दियाका मेघनाथ श्रेष्ठले महाकालीमा दर्ता गरि धौलागिरी यातायात व्यवस्था कार्यालय वागलुङमा सरुवा सहमती लत्याएर दर्ता गराएका थिए ।

 त्यसको केहि दिनमै उक्त वाइक गण्डकीमा दर्ता गर्न सफल मेघनाथ श्रेष्ठले पोखरा १७ विरौटाका रामबहादुर गुरुङलाई विक्री गर्न पनि सफल भए । श्रेष्ठ, गुरुङ र चोरी सवारी कारोवारीबीच के कस्तो सेटिङ छ भन्ने बारेमा निजहरुलाई पक्राउपछि गरिने अनुसन्धानवाट खुल्दै जालान् । शंकास्पद सवारीको बारेमा सवारी दर्ता गरेको गण्डकी अञ्चल यातायत व्यवस्था कार्यालय पोखराले पक्राउ गर्न पत्राचार गरेपछि मोटरसाइकल, सवारी किन्ने र बेच्ने दुवै फरार छन् । मोटरसाइकल किन्ने व्यक्ति गुरुङले बाइक सहित प्रहरी कार्यालयमा दोषी पत्ता लगाई क्षतिपूर्ति दिलाई पाउन निवेदन दिनु पर्ने हो । तर, यतिखेर सम्म दुवै पक्ष फरार भएपछि शंका झन बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव निरीक्षक शिवबहादुर थापाले आरोपित व्यक्तिहरु र मोटरसाइकल खोजी भइरहेको बताए । योसँगै केहि समय शुन्य रहेको चोरी सवारीको दर्ता कारोवार फेरि सलवलाउन थालेको संकेत मिलेको छ ।

 यो घटनाले महाकाली अञ्चल यातायात कार्यालयमाथि पनि आशंका उव्जिएको छ । छोटी भन्सार कार्यालय गुलरिया वर्दियाले लिलाम गरेको जनाएर तयार डकुमेन्टलाई महाकाली अञ्चल यातायात कार्यालयले प्रमाण अध्ययन नै नगरी दर्ता गर्नुलाई मिलेमतोको रुपमा हेरिएको छ । सवारी लिलाम गर्दा अपनाइने प्रकृया समेतलाई मध्यनजर नगर्नु उक्त कार्यालयका कर्मचारीहरु समेतले तस्करलाई सहयोग पु-याएको प्रष्ट हुन आउँछ । तस्करले महाकालीको दर्ता पश्चात धौलागिरी ल्याएर मात्र पोखरा सारेका छन् ।

 तीन ठाउँसम्म सरुवा दर्ता गरेर अवैध धन्दालाई वैधानिक बनाउन अवैध कारोवारीले चलखेल गरेका छन् । पछिल्लो पटक फेला परेको यो एउटा नमूना घटना हो । यस्ता अवैध सवारी के कति दर्ता भए गरिए त्यस वारेमा गम्भिर छानविन र अनुसन्धान गर्नु पर्छ । फरार रहेका आरोपी र मोटरसाइकल पक्राउ गरेपछि यि र यस्ता प्रकरणका बारेमा सत्य तथ्य घटना बाहिर आउने निश्चित छ । त्यसो त यस अघि पनि चोरीका गाडी दर्ता हुने र पछि थाहा पाए पछि दर्ता वदर गर्ने मात्र गरिदै आएको छ ।

 चोरीका सवारी मात्र फेला पर्ने तर सवारी खरिद विक्री कर्ता पक्राउ नपर्दा तिनले गरेका सवै खतवात् फाम हुँदै आएका छन् जसका कारण दुई नम्वरी काम गर्ने गिरोहहरुको मनोवल बढ्दै गएको छ । यो प्रकरणमा सवारी क्रेता र विक्रेता दुवै पक्राउ गर्न सक्ने अवस्था छ । तर, प्रहरीले कस्तो सकृयता देखाउँछ त्यो भने प्रतिक्षाकै विषय बनेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित