सौराहामा प्रेम दिवसको अवसर पारेर खाना महोत्सव हुदैं

Valentine-Day

चितवन । पर्यटकीय नगरी सौराहामा प्रेम दिवसको अवसर पारेर मङ्गलबारदेखि खाना महोत्सव हुने भएको छ । रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) सौराहाको आयोजनामा सिसुवार चौरमा चौधौैँ सौराहा खाना महोत्सव हुँदैछ ।

महोत्सवमा ४० खानाका कक्ष रहने रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए । महोत्सवमा स्थानीय तथा विदेशी खानाको परिकारसँगै स्थानीय कला, संस्कृति, वेशभूषाको प्रदर्शन गरिनेछ ।

महोत्सवअन्तर्गत सौराहाको हात्तीचोकदेखि ड्याकसम्म सडकमै खाने र सडकमै रमाउने व्यवस्था मिलाइनेछ । सडक किनारमै खाने र सडकमा नै सांस्कृतिक कार्यक्रम अवलोकन गर्ने व्यवस्था मिलाइएको छ ।

पर्यटकका लागि होटलमा ३० प्रतिशत र रेष्टुराँमा १५ प्रतिशत छुटको व्यवस्था मिलाइएको महोत्सवका संयोजक धु्रव गिरीले जानकारी दिए । महोत्सवअन्तर्गत मेयरकप भलिबल प्रतियोगिता, प्रेमपत्र लेखन प्रतियोगिता, वेटर रेस, महिलाको म्युजिकल चेयर, बालबालिकाको बेलुन फुटाइ, डोरी तान्ने, अन्तरविद्यालय नृत्य प्रतियोगिता तथा सडक नाटकलगायत कार्यक्रम हुनेछन् ।

प्रेम दिवसको दिन महोत्सव प्रवेशका लागि काटिने टिकटबाट सङ्कलन भएको रकममध्ये ७५ प्रतिशत गौतमबुद्ध क्रिकेट रङ्गशालालाई दिइने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित