फोटोसहितको मतदाना नामावली अद्यावधिक शुरु

काठमाडौं : निर्वाचन आयोगले प्रादेशिक र संसदीय निर्वाचनका लागि साउन आजदेखि फोटोसहितको मतदाता नामावली अद्यावधिक शुरु गरेको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै आयोगले प्रादेशिक र संसदीय निर्वाचनलाई केन्द्रित गर्दै जिल्ला निर्वाचन कार्यालयमार्फत फोटोसहितको मतदाता नामावली संकलन सुरु गरेको हो । उमेर पुगेर पनि मतदाता नामावलीमा नाम लेख्न छुटेका कारण स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएका नागरिकले आजबाट १५ दिनभित्र जिल्ला निर्वाचन कार्यालय पुगेर मतदाता नामावलीमा नाम लेखाएपछि प्रादेशिक र संसदीय निर्वाचनमा मतदान गर्न पाउनेछन्। निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि साउन १ गतेदेखि ७५ वटै जिल्लामा मतदाता नामावली संकलन सुरु गरिएको जनाएको छ । आयोगका अनुसार साउन १५ गतेसम्म नाम दर्ता तथा अद्यावधिक गर्न सकिनेछ । आयोगले मतदाता नामावलीमा यसअघि नाम समावेश नभएका व्यक्तिलाई नागरिकताको प्रमाणपत्र लिई सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्न भनेको छ । यसअघि जहाँ सुकैको निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने भएपनि यसपटक सम्बन्धित जिल्लामै पुगेर दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ । आयोगबाट यसअघि प्रकाशित नामावलीमा आफ्नो नाम तथा ठेगानामा त्रुटि भएका व्यक्तिले पनि गल्ती सच्याउन सक्नेछन् । तर, स्थानीय तहको निर्वाचनका लागि प्रकाशित मतदाता नामावलीमा नाम भएकाहरुले भने पुनः नाम लेखाउनु पर्दैन । आयोगले यस्तो व्यवस्था गरेपछि मतदाता नामावली दर्ता झन्झटिलो भएको भन्दै आलोचना भएको छ । राजनीतिक दलहरू १५ दिनको अवधि बढाएर १ महिना गर्न र बसेकै स्थानबाट दर्ता गर्न सकिने व्यवस्था गर्न माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित