प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै,कांग्रेसले अवरोध नगर्ने

bicc-ncc

काठमाडौं । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीहरुलाई कार्यभार थपिएको सम्बन्धी पत्र पढेर सुनाउने साथै विभिन्न विधेयक छलफल र पारितका लागि पेश गर्ने कार्यसूची रहेकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७६’ पेश गरिने साथै अर्थमन्त्री युवराज खतिवडाले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६’ र ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो संशोधन विधेयक २०७६’ छलफलका लागि पेश गर्ने कार्यसूची रहेको जनाएको छ । संसद सचिवालयका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७६ छलफल र पारितका लागि पेश गर्ने कार्यसूची रहेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको ‘बिउ बिजन दोस्रो संशोधन विधेयक २०७५’ छलफल र पारितका लागि पेश गर्ने र  ‘विरुवा संरक्षण पहिलो संशोधन विधेयक २०७६’ पनि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने छन् ।

गत ८ गतेको प्रतिनिधिसभा बैठक प्रमुख विपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि स्थगित भएको थियो । हिजाे कांग्रेससहित समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी राजपा नेपालबीच छलफल भएपछि आजको बैठक स्थगित नहुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित