करोडौं पचाएर भारतीय दूताबासको शरणमा

काठमाडौं : बैकिङ कसुरको मुद्दामा कारवाही भोगे पनि राज्यका सम्पूर्ण निकायहरुलाई प्रभावमा पारेर एनआइडीसी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा टिकिरहन सफल शिवजी राय यादव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा हिरासतमा राखेर कारबाही गरेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुँडामणी शर्मा बीचको कारोबार कहालिलाग्दो भेटिएको छ । अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधि बनेर दुई वर्षदेखि शर्माले बैंकको अध्यक्ष पद सम्हालेका थिए । शर्मा कार्यरत रहेको बेला एनआईडीसीको सञ्चालक समितिको बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्दका छोरा अरुणद्धारा सञ्चालित बासुलिंक सुगर मिल धनगढिको ७५ करोड ऋण मिनाहा गराइएको थियो । बासुलिंकले एनआईडीसीसँग लिएको ७५ करोड ऋणमध्ये १० करोड बुझाउन लगाई शर्मा र यादवको मिलेमतोमा ६५ करोड मिनाहा गरिएको थियो । त्यसलगत्तै कर्मचारीहरुले बैंकका अध्यक्ष शर्माकहाँ उजुरी गर्न पुग्दा उनले रायलाई नै च्यापेपछि अख्तियारमा उजुरी परेको थियो । बासुलिंकको ६५ करोड ऋण मिनाहा गरे पाँच करोड कमिसन हात पर्ने भन्दै शर्मालाई यादवले कन्भिन्स गराएका थिए । एनआईडीसीमा गैरकानुनी रुपमा सिइओको हैसियतमा रहेका यादव बैंकिङ कसुरमा कारबाही भोगी धरौटीमा छुटेका व्यक्ति हुन् । शर्मा र यादवकै मिलेमतोमा हिमाल सिमेन्ट कम्पनीका उपकरणहरु कौडिको भाउमा व्यापारी दिपक मल्होत्रालाई बेचिएको थियो । शुरुमा ४२ करोड मूल्यांकन गरिएका ति उपकरणहरु मल्होत्राले १५ करोडमा खरिद गरेका थिए । स्रोतका अनुसार त्यसबापत पनि शर्मा र यादवले १० करोड कमिसन हात पारेका थिए । अख्तियारले हिमाल सिमेन्ट कम्पनीको फाइल पनि झिकाएर अनुसन्धान गरिरहेको छ । अख्तियारले अनुसन्धान शुरु गरेपछि कारबाहीबाट बच्न राय भने यतिखेर भारतीय दूतावासको शरणमा पुगेका छन् । गत शुक्रबार यादवले भारतीय राजदूतलाई भेट्न समय मागेका थिए । तर, राजदूतले ठाडै इन्कार गरिदिएपछि यादव यतिखेर तिल्मिलाएर हिंडेका छन् । नेपाल राष्ट्र बैंकको नियममा बैंकिङ कसुरमा कारबाहीमा परेको वा कालोसूचीमा परेको व्यक्तिलाई सजाय पाएको ३ बर्षसम्म कुनै पनि बैंक तथा वित्तिय संस्थाको सञ्चालक हुन नपाउने उल्लेख छ । तर, एउटा संस्थामा कारवाही परेर हटेको व्यक्ति अर्को संस्थामा झनै बोर्ड र व्यवस्थापन दुबै निकायमा काम गरिरहँदा पनि राष्ट्र बैंक आपैm मौन रहँदै आएको छ । सामान्य घुस खाएको अभियोग लागेको व्यक्ति मुद्दा चल्नासाथ तत्काल निलम्बन हुन्छन् । तर, ११ करोड भन्दा बढीको घोटलाको अभियोग लागेर अदालतमा मुद्दा खेपिरहेका राय अझै पदमा छन् । यादवले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईवी) को कारबाही पछि उक्त पद छाड्नु पर्ने थियो । स्रोतका अनुसार अदालतमा विचाराधिन मुद्दा मिलाउनका लागि यादवले सुन तस्करीमा मुछिदै आएका व्यापारी दिपक मलहोत्रा र कांग्रेस सभासद् अम्रेसकुमार सिंहसँग मिटिङ गरी सेटिङ मिलाउने षड्यन्त्र गरिरहेका छन् । उनको सिइओ पदको म्याद २०७० भदौ १ गते नै समाप्त भइसकेको थियो । तर, उनी हालसम्म पनि अवैध रुपमा बैंकमा सिइओको हैसियतमा काम गरिरहेका छन् । – यूनाइटेड पोष्ट साप्ताहिकबाट

प्रतिक्रिया

सम्बन्धित