राम सीताको डोला र मूर्तिलाई रङ र अबीरले रङगाउँदै मिथिलाञ्चलमा होली शुरु

363825630Holis

जलेश्वर । महाकुम्भको रुपमा चर्चित मिथिलाञ्चलमा १५ दिने माध्यमिकी परिक्रमाका यात्रुले कञ्चनवनमा स्नान गरेर रङअबिर खेलेर आजबाट विधिवत् रुपमा होली खेलको शुभारम्भ गरेका छन् ।

त्रेतायुगमा रामसीताले कञ्चनवन पुगेर रङअबिर खेलेका विश्वासमा यात्रीले फागु पर्वको शुरुवात गर्ने परम्परा छ । हिजो कञ्चनवन आएको परिक्रमाका यात्रीले आज बिहान कञ्चनवनमा स्नान गरेर रङअबिर खेलेसँगै मिथिलाञ्चलमा आजदेखि विधिवत् रुपमा होली शुरु भएको मानिन्छ ।

१५ दिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौँ दिनको बासस्थान कञ्चनवनमा भगवान् रामचन्द्र र माता सीताको डोला र मूर्तिलाई एकापसमा रङ र अबीरले होली खेलाइएको छ भने परिक्रमामा सहभागी हजारौँ साधुसन्त महात्मा र गृहस्थ परिवार गरी सम्पूर्ण परिक्रमा यात्रीसमेतले एकापसमा रङ अबीर साटासाट गर्दै होली पर्वको शुरुआत गरेका थिए ।

भगवान् तथा साधुसन्त र महात्माले होली पर्वको शुरुआत गरिसकेको कुरालाई लिएर आज बिहानै मिथिलाञ्चलको गाउँगाउँ तथा घरघरमा पनि रङ अबीरको प्रयोग शुरु भएको छ । यसैगरी होलीको आगमनसँगै प्रत्येक वर्षमा जस्तै यस वर्ष पनि आजै बेलुकादेखि मिथिलाञ्चलको गाउँगाउँमा होलीका गीत नाच, गान, हाँसो ठट्टा र ब्यङ्गात्मक कविता तथा चुटकिला गाउने, देखाउने र प्रस्तुत गर्ने कार्यको समेत शुभारम्भ हुनेछ ।

परापूर्वकालमा भगवान् रामचन्द्र र माता जानकी वनवास गएको दिनमा महोत्तरीको कञ्चनवनमा नै होली पर्व मनाएको बेला सो ठाउँको माटो रातो भएको र सोही ठाउँ भएर बग्ने नदीको पानी पनि रातो भएको जनविश्वास छ । मिथिलाञ्चलका साधुसन्त महात्मा र गृहस्थ परिवार भगवानले वनवास गएको दिनलाई सम्झिँदै १५ दिने परिक्रमा गर्दछन् भने परिक्रममा कै क्रममा भगवानले होली पर्व खेलेको सम्झिँदै सम्पूर्ण परिक्रमा यात्री पनि होली पर्व मनाउने चलन रहेकाे छ ।

धनुषाको हनुमानगढीमा गत आइतबार परिक्रमाका लागि भगवान् रामचन्द्र र माता जानकीको डोला र परिक्रमायात्री जम्मा भई आजदेखि भारतको कलार्णेश्वरबाट शुरु भएको परिक्रमा यात्रा १५ दिनमा जनकपुरमा पुगी समाप्त हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित