कोरोना भाइरसको सङ्क्रमणबाट भारतमा एक जनाको मृत्यु

India Corona
काठमाडौँ ।
बिश्वब्यापि महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट भारतमा एक जनाको मृत्यु भएको छ । भारतकर्नाटक, कालाबुर्गीका ७६ वर्षीय पुरुषको ज्यान गएको कर्नाटकका स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन् । कोरोनाको कारण भारतमा पहिलो व्यक्तिको ज्यान गएको हो । भारतमा अहिलेसम्म ७४ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ ।

यसैबीच कोभिड नाइन्टिन अर्थात कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या करिब ५ हजार पुगेको छ ।

चीन पछि बढी मृत्युदर देखिएको इटलीमा मात्रै मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । पछिल्लो एकै दिनमा १ सय ८९ जनाको मृत्यु भएपछि त्यहाँ मृत्यु हुनेको संख्या १ हजार १६ पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् ।

इरानमा एक दिनमा ७५ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४ सय २९ पुगेको छ । त्यहाँ संक्रमितको संख्या १० हजार नाघेको छ । स्पेनमा कोरोना संक्रमण तिब्र देखिएको छ । हिजो मात्रै ३१ जनाको मृत्यु हुँदा त्यहाँ ८ सय ६९ जना नयाँ संक्रमित भेटिएको छ ।

कोरोना भाइरसको उद्गम विन्दु मानिएको चीनमा भने यसको प्रभाव अन्त्य भएको घोषणा गरिएको छ । पछिल्लो १ दिनमा चीनमा भने कोरोनाका कारण १ जनाको मृत्यु भएको छ भने नयाँ संक्रमित पनि ४ जना मात्रै भेटिएका छन् ।

विश्वभर एक दिन अघि ३ सय ४३ जनाको मृत्यु भएसँगै कूल मृतकको संख्या ४ हजार ९ सय ७१ पुगेको छ । पछिल्लो १ दिनमा ८ हजार ३ सय ४४ जना नयाँ संक्रमित भेटिएका छन् । इटलीमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार १६ पुगेको छ । इटलीमा १५ हजार एक सय १३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

भाइरसको उद्गमस्थल चीनले नयाँ सङ्क्रमण रोकिने क्रममा पुगेको भन्दै माहामारी नियन्त्रण भएको बताइरहँदा इरान, स्पेन, फ्रान्स, जर्मनी, अमेरिका, स्विजरल्याण्ड, स्विडेन, डेनमार्क, अस्ट्रेलियालगायत देशमा भने सङ्क्रमण फैलिने र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित