पर्यटन क्षेत्रमा विशेष प्याकेजको घोषणा गर्नुपर्ने मागसहित सरकारसमक्ष ज्ञापनपत्र प्रस्तुत

Rajib-2

काठमाडौं । विश्वभर महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड – १९)बाट पर्यटन व्यवसाय क्षतविक्षद् भएको आवस्थामा व्यवसायीको दुखेको घाउमा मलहम लगाउँदै समस्या समाधानको उपायसहित गण्डकी प्रदेशका सांसद राजीव पहारीको नेतृत्वमा पोखराका पर्यटन व्यवसायीको टोलीले संघिय सरकारसँग समस्या समाधानको लागि पहल गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ ।

सांसद पहारी सहितको टोलीले आइतबार सिंहदरवारमा उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश कुमार भट्टराई, परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउँदै टोलीले कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा आपतकालिन अवस्था सिर्जना भएको भन्दै पर्यटन व्यवसाय धरासायी भएको स्पष्ट पारेका छ । अरवौं रकम बैंकबाट ऋण लिई लगानी गरेको जानकारी गराउँदै मुलुकको आर्थिक विकास र समृद्धिको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रमा संघिय सरकारले विशेष प्याकेजको घोषणा गरी व्यवसायीमा राहतको व्यवस्था गरिदिन आग्रह गरेको छ ।

Rajib-1

राष्ट्रिय युवा संघ नेपालका पूर्वअध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गण्डकी प्रदेश सचिवालय सदस्य तथा सांसद पहारीको नेतृत्वमा आएको व्यसायीक टोलीले बैंकबाट ठूलो ऋण लिएर व्यवसाय शुरु गरेको उल्लेख गर्दै कर्जाको पुर्नतालिकिकरण गर्नुपर्ने, संकट व्यवस्थापन कर्जाको व्यवस्था गर्नुपर्ने, पुनकर्जाको माध्यमबाट व्याजदर घटाउनुपर्ने, जरिवाना, विलम्ब शुल्क हटाउनुपर्ने, व्यवसायीले विभिन्न शिर्षकमा तीनवटै सरकारलाई बुझाउनुपर्ने कर तथा राजश्वमा ५० प्रतिशत छुटको व्यवस्था गर्नुपर्ने, विद्युत महशुलमा सहुलियत प्रदान गर्नुपर्ने, घरभाडा तथा घरबहाल करमा ५० प्रतिशत छुटको व्यवस्था गर्नुपर्ने तथा प्रत्येक प्रदेशमा कोरोना भाइरस संक्रमितलाई भरपर्दो तथा विश्वाशिलो क्वारेन्टाईन सेन्टरको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङको प्रतिनिधिको रुपमा आउनुभएको सांसद पहारीले ज्ञापनपत्र बुझाउँदै विश्व बजारमा नेपालले एक मात्र प्रतिपर्धा गर्न सक्ने व्यवसाय पर्यटन भएकाले यसलाई तीन वटै तहका सरकारले विशेष रुपमा गम्भीर रुपमा लिई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । कोरोनाका कारण हाल विश्वभरको पर्यटन क्षेत्र धरासायी भएको उल्लेख गर्दै उहाँले विश्व अर्थतन्त्रमा समेत यसले तहसनहस बनाएकाले नेपालका पर्यटन व्यवसायीलाई सरकारले विशेष प्याकेजको घोषणा गरी पर्यटन व्यवसायलाई जोगाउनु तीन वटै सरकारको जिम्मेवारी भको उल्लेख गर्नुभयो ।

Rajib-3

प्रदेश सभाको वैठकमा समेत उक्त कुरालाई जोडतोडका साथ उठाउनुभएका सांसद पहारीले हाल पोखरामा मात्र ४६२ वटा होटल, ३८८ ट्राभल एजेन्सी, २१२ ट्रेकिङ एजेन्सी, ६० वटा प्याराग्लाईडिङ कम्पनी, १०० वटा गार्मेन्ट सप, १०० जति टे«किङ इक्युप्मेन्टलगायतका पर्यटन कार्यालयबाट इजाजत लिई २५ हजार भन्दा बढीलाई रोजगारी प्रदान गरिरहेको जानकारी गराउँदै गण्डकी प्रदेशमा गरिवी निवारणको प्रमुख आधार समेत पर्यटन क्षेत्र भएको उल्लेख गर्नुभयो ।

पर्यटन व्यवसाय इतिहासकै शुन्य अवस्थामा पुग्न लागेको उल्लेख गर्दै उहाँले पर्यटन उद्योगमा भएको लगानीलाई संरक्षण गर्नका लागि सरकारका तर्फबाट कुनै पहल नभएमा उद्योग नै धरापमा परि लगानी पलायन हुँदै राज्य नै असफल भई ठूलो आर्थिक संकट हुनेतर्फ सचेत भई अघि बढ्नपर्नेमा जोड दिनुभयो ।

ज्ञापन पत्र बुझ्दै उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले कोरोनाको वास्तविकता र भावि सरकारको योजनाको बारेमा जानकारी गराउँदै सरकारले देशव्यापी छलफल तथा सहकार्य अघि बढाएको जानकारी गराउनुभयो । सरकारले प्रदेश स्तरिय छलफल गरी सवै ठाउँको वास्तविक जानकारी लिइरहेको बताउँदै उपप्रधानमन्त्री पोखरेलले छलफलबाट आएको निश्कर्षकै आधारमा सरकारले जनमुखी तथा व्यवसायीमुखी योजना बनाई अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

समस्याबाट नआत्ती सहकार्य र समाधानको बाटोबाट अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले कोरोनाकै कारण भ्रमण वर्ष २०२० सरकारले रोकेको र आगामी दिनमा भ्रमण वर्षको नयाँ योजना बनाई अघि बढ्ने प्रकृयामा अघि बढेको समेत जानकारी गराउनुभयो । जनता तथा व्यवसायीको समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै सरकारलाई सवैको साथ र सहयोग अपरिहार्य रहेको समेत औंल्याउनुभयो ।

Rajib

ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री डा. युवराज खतिवडाले वर्तमान सरकार कोरोनाबाट प्रभावित पर्यटन व्यवसायको समस्या समाधान गर्न योजनावद्ध रुपमा अघि बढिरहेको बताउनुभयो । पर्यटन व्यवसायलाई मर्न नदिने प्रतिवद्धता जनाउँदै मन्त्री खतिवडाले मुलुकको आर्थिक समृद्धिको आधार नै पर्यटन भएको बताउनुभयो । पोखरा भ्रमण वर्ष २०२० को लागि मात्र नभई जहिले पनि विश्व भरबाट नेपाल आउने पर्यटकहरुको गन्तव्यको रुपमा रहेको बताउँदै उहाँले व्यवसायीलाई परेको समस्याको समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

कोरोना भाइरस चाँडै नियन्त्रण हुनेमा विश्वास व्यक्त गर्दै उहाँले नियन्त्रण नभएको अवस्थामा प्राथमिकताको आधारमा योजना अघि बढाउने समेत जानकारी गराउनुभयो । कोरोनाले नेपालमा कति समय प्रभाव पार्छ ? भन्ने विषयमा कोही कसैले केही बताउन नसक्ने उल्लेख गर्दै सरकारले १५ दिन, एक महिना, तीन महिना तथा त्यो भन्दा बढी कति प्रभाव पार्छ ? त्यसलाई मध्यनजर गर्दै व्यवसायमुखी योजनाहरु ल्याउने तयारीमा सरकार रहेको जानकारी गराउनुभयो ।

व्यवसायीले राखेको मागका सवालमा सकारात्मक रहेको उल्लेख गर्दै उहाँले सरकारलाई समेत सवैको साथ, सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले मुलुकको आर्थिक, सामाजिक, पर्यटनलगायतका क्षेत्रहरुको विकास र समृद्धिको लागि प्रतिपक्षीसँग समेत सहकार्य गरी अघि बढिरहेको उल्लेख गर्दै सरकारी, नीजि संघसंस्था, सरोकारवाला निकाय तथा मिडियाकर्मीहरुसँग समेत सहकार्यमा सरकार जनताको समस्या तथा विकास प्रतिको चाहना पुरा गर्न तिव्र गतिमा अघि बढिरहेको वताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित