लुकाएर राखिएको एक लाख ६८ हजार मास्क सहित सात जना नियन्त्रणमा

Mask

काठमाडौं ।
काठमाडौँको कपनबाट आइतबार प्रहरीले ठूलो परिमाणमा मास्क बरामद गरेको छ । लुकाएर राखिएको अवस्थामा एक लाख ६८ हजार मास्क बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

कालोबजारी गरेको आरोपमा मास्कसहित सात जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार उनीहरुले सञ्चालन गरेको अर्को सतुङ्गलको गोदाममा पनि ठूलो परिमाणमा मास्क रहेकाले आज सिल गरेर राखिएको र सोमबार पुनः कारवाही चलाइने छ ।   यसअघि शनिबार प्रहरीले काठमाडौँको डल्लुबाट ७८ हजार मास्क बरामद गरी आठ जनालाई पक्राउ गरेको थियो । उनीहरुले पाँच रुपैयाँ पर्नै मास्कलाई ३० देखि ४० रुपैयाँमा बिक्री गर्ने गरेको सूचना पाएपछि प्रहरीले काठमाडौँमा खोजी अभियान जारी राखेको छ ।

शनिबार मञ्जुश्री सप्लायर्सका गोदाम मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे रोशी-९ का मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय, नृप कार्की, काभ्रेका गणेश तामाङ र रामेछापका शिव खड्का पक्राउ परेका थिए । उनीहरुविरुद्ध प्रहरीले कालोबजारी ऐनअनुसार म्याद थप गरेर अनुसन्धान थालेको छ ।

कोरोनाको संक्रमण फैलिएसँगै विभिन्न कम्पनीले मास्कको स्टक लुकाएको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित