विराटनगरमा ग्यासको कालोबजारी : छैन अनुगमन

Gas_Biratnagar

विराटनगर । कोरोना (कोभिड-१९) भाइरसको संक्रमण त्रास फैलिएसँगै विराटनगरमा खाना पकाउने ग्यासको कालोबजारी भएको छ।   

पसलमा ग्यास नभएको सूचना राख्न थालिएको छ भने मास्क र स्यानिटाइजर बजारमा भेटिदैन। भारतसहित तेस्रो देशबाट आयात हुने दैनिक उपभोग्य वस्तुसहित उद्योगमा आवस्यक कच्चा पदार्थको आयात कम हुँदै गएको व्यापारीको भनाइ छ। 

कोरोना भाइरसका कारण आपूर्ति सहज नहुने भन्दै व्यापारीले बजारमा कृतिम अभाव सिर्जना गर्दासमेत वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर भने एक वर्ष पुरानो अनुगमनको तथ्याङ्क सार्वजनिक गर्दै बसेको छ। एक दिन अस्पताल नजिकका केही औषधिका थोक बिक्रेताको अनुगमन गर्नुबाहेक केही गर्न सकेको छैन। 

‘बजारमा ग्यास छैन, मास्क छैन, दैनिक उपभोग्य सामानको मूल्य बढ्दो छ,’ विराटनगर २ नर्सिङ टोलका स्थानीय पुन्य कार्कीले भने, ‘अनुगमन गर्ने समयमा सम्बन्धित निकाय मौन छ।’ कार्कीले खाना पकाउने ग्यासको अभाव सुरु हुँदापनि अनुगमन नभएको भन्दै आपत्ति जनाए। 
 
पछिल्ला चार दिनमा विराटनगर भन्सारबाट विभिन्न कम्पनीका ६६ बुलेट ग्यास नेपाल भित्रिएको निगमले जनाए पनि अहिले विराटनगरका बजारमा ग्यास छैन। निगमका अनुसार यो समयमानै झापाको काँकडभिट्टा भन्सारबाट पनि २२ बुलेट ग्यास नेपाल छिरेका छन्। 

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख हिमालय बरालले भने पत्रकार सम्मेलन गर्दै विराटनगरमा समय समयमा अनुगमन भइरहेको र कालोबजारी नभएको दाबी गरेका छन्। 

‘हामीले धेरै अनुगमन गरेका छौँ, कारबाही पनि गरेका छौँ,’ बरालले भने, ‘विराटनगरमा अभाव र कालोबजारी छैन।’ बरालले कालोबजारी नभएको दाबी गरे पनि यहाँ ग्यासको अभाव भने चुलिएको छ। -अन्नपूर्ण पोस्ट्बाट

 

 

 

प्रतिक्रिया

सम्बन्धित