एमाले अध्यक्ष ओलीद्धारा सत्तारुढ दललाई अपराधिको संज्ञा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई अपराधिको संज्ञा दिएका छन् । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिन आज गृह जिल्ला झापा पुगेका अध्यक्ष ओलीले यो महिना भित्र संविधान संशोधन गरेर सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव हुनै नदिन षडयन्त्र गरिरहेको आरोप लगाउँदै माकुराको जालोमा भैंसी नअल्झिने बताएका छन् । राष्ट्रहितलाई बेवास्ता गरेर आफ्ना क्षणिक स्वार्थ पूरा गर्न सत्तारुढ गठबन्धन लागि परेको आरोप लगाउँदै उनले संविधान संशोधनका लागि अनेक जालोहरु बुन्दै गएको भएपनि एमाले कसैको जालोमा नफस्ने दावी गरे । मुलुकलाई टुक्रा टुक्रा बनाउने काममा सरकार लागि परेको आरोप लगाउँदै अध्यक्ष ओलीले संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित हुन नदिने पनि दोहार्याए । उनले स्थानीय तहको चुनावमा अन्तरघात गर्ने पार्टी नेता तथा कार्यकर्तालाई कडा कार्वाही गर्ने पनि चेतावनी दिए । बधाई तथा शुभकामना कार्यक्रममा एमाले सचिव प्रदीप ज्ञवाली, नेताहरु एलपी साँवा, हिक्मत कार्कीलगायतले शुभकामना दिएका थिए । झापाका १५ गाउँ तथा नगरपालिका मध्येमा झण्डै आधा स्थानीय तहमा एमालेले विजय हासिल गरेको छ । झापाका दमक, कमल, शिवसतासी, कन्काइ, विर्तामोड, भद्रपुर लगायतमा एमालेले बहुमतको साथ विजय गरेको छ भने आज समेत अर्जूनधारामा मतगणना भइरहेको छ । मतगणना भइरहेको अर्जूनधारा नगरपालिकामा मेयर उपमेयरमा समेत एमालेका अग्रता कायम नै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित