आम दर्शकलाई सिनेमा हलमा नजान आग्रह

Cinema Hall

काठमाडौं । महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम गर्न सरकारले फिल्म हलमा नजान आग्रह गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो आह्वान गरेको हो । सरकारले मानिस भेला हुने भोज–भतेर, सभा–समारोह, ब्रतबन्धलगायतका समारोहमा नजान यसअघि नै आग्रह गरिसकेको छ । तर, यता नेपाल चलचित्र संघको बैठकले भने हलहरु बन्द नगर्ने जनाएको छ । आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

हलहरु बन्द गर्दा देशभर रहेका सयभन्दा बढी हलहरु प्रभावित हुने भएकाले उक्त निर्णय गरिएको हो । साथै, चलचित्र संघले सरकार समक्ष कर छुट गर्नुपर्ने प्रस्ताब समेत राखेको छ । चलचित्र संघका उपमहासचिब गोपालकाजी कायस्थले सरकारले दर्शकलाई फिल्म हलमा नजान आग्रह गरेको भएपनि हल सञ्चालकलाई हल बन्द गर्न नमानेको बताए । अहिले हलहरु चालु अवस्थामा रहेका छन् ।

यस्तै, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीका अनुसार कोरोनाका कारण सरेका फिल्महरुको रिलिज मिति मिलाउने पनि अत्यन्त गाह्रो हुने देखिएको छ । कोरोना भाइरसबाट बच्न प्रत्येक स्थानीय तहमा समन्वय समिति गठन गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ । 

स्थानीय तह र वडास्तरमा समन्वय समिति गठन गर्न मन्त्रालयले उक्त निर्णय संघीय मामिला तथा सामान्य प्रशासनमा पत्रसमेत पठाइसकेको छ । मन्त्रालयका प्रवक्ता मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार हाल ४ सय ५० जनाको परीक्षण गरेकोमा एक जनामा पोजेटिभ देखिएको भएपनि ठीक भएर घर गइसकेका छन् भने अन्यमा कोरोना नदेखिएको बताइएको छ ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई नेपालमा फैलिन नदिन सरकारले आठ मुलुकहरु (चीन, इरान, इटाली, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी र स्पेनबाट नेपाल भ्रमणमा आउने विदेशी नागरिक ‘अनअराइभल भिसा’ स्थगन गरेको छ ।

यस्तै, अमेरिकाको न्यूयोर्क सिटी र लस एञ्न्जेलसका सबै फिल्म हलहरु बन्द गर्न निर्देशन दिइएको छ । पहिले न्यूयोर्क सिटीका मेयर बिल द ब्लेसियोले उक्त निर्णय लिएका थिए भने त्यसपछि लस एन्जेलसका मेयर एरिक गारर्सेतीले पनि उक्त निर्णय लिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित