लाभकर विवाद मिलाउन एनसेलमा नयाँ प्रबन्ध सञ्चालक, को हुन अमरासेकरा ?

काठमाडौ ।   एनसेलको नयाँ प्रबन्ध सञ्चालक पदमा सुरेन जे.अमरासेकरा नियुक्त भएका छन् । अमरासेकरालाई एनसेलको सञ्चालक समितिले नयाँ प्रबन्ध सञ्चालकमा नियुक्त गरेको हो । साथै एनसेलका पुर्व प्रबन्ध सञ्चालक साइमन  पर्किन्सले एक्जियटाको प्रधान कार्यालयमा रही दक्षिण एशिया बजारमा कम्पनीको सञ्चालनलाई सहयोग गर्ने गरी नयाँ कार्यभार सम्हाल्ने एनसेलले जनाएको छ  ।

 एनसेल स्रोतका अनुसार दुई महिना पहिला नै अमरासेकराले प्रबन्ध सञ्चालकको जिम्बेवारी लिने वताइए पनि लाभकर विवाद समाधन गरेर एनसेलले उनलाई भित्र्याउन खोजेको थियो । तर  लाभकर विवाद लम्बिने अवस्था देखिएपछि  एनसेलले उनलाई अहिले आएर प्रबन्ध सञ्चालकको दिएको हो । साइमन  पर्किन्स र लेखा प्रमुख हादी हाल्मी गैरकानुनी भिशा र अर्वौ अबैध रकम सिंगापुर पठाएको विवादमा  पनि मुछिएका थिए । त्यसकारण साइमनको अवधि लम्ब्याउन चाहेको थिएन एनसेलले  ।

 प्रबन्ध सञ्चालक अमरासेकराले विश्वका विभिन्न प्रख्यात बहुराष्ट्रिय कम्पनीहरु सिङ्गापुर टेलिकम्युनिकेसन्स् लिमिटेड (सिङ्गापुर), मोबीटेल (श्रीलङका), म्याक्सिस बर्हाद (मलेसिया) र एयरसेल लिमिटेड (भारत) मा काम गरिसकेका छन् । ९ वर्ष प्रमुख कार्यकारी अधिकृतका रुपमा र १६ वर्ष उच्च व्यवस्थापनको विभिन्न पदहरुमा रही काम गर्दै उनले दूरसञ्चार क्षेत्रमा २५ वर्षको विस्तृत अनुभव संङ्गालेका छन् ।सञ्चालक समितिले साइमन पर्किन्सलाई संक्रमणको समयमा प्रमुख योगदानकर्ताको रुपमा नेतृत्व प्रदान गरी एनसेललाई उल्लेखनीय योगदान पु-याएकोे भन्दै धन्यवाद ज्ञापन गरेको छ ।

 एनसेलसँग आवद्ध हुनु अघि अमरासेकरा एक्जियटा ग्रुप बर्हादको प्रधान कार्यलय क्वालालम्पुर, मलेसियामा रणनीतिक परियोजना निर्देशकको रुपमा गु्रपले दक्षिण एसियाली क्षेत्रहरु बंगलादेश, नेपाल, श्रीलङ्का तथा पाकिस्तानमा पहल गरेका कार्यहरुमा केन्द्रीत थिए । यस अघि सन् २०१४ देखि २०१७ सम्म अमरासेकराले एयरसेल लिमिटेडमा प्रमुख इन्टरप्राइज अधिकृतका रुपमा सम्पूर्ण भारतको फोरजी र एलटिई सेवा, इन्टरप्राइज, होलसेल र क्यारीअर ब्यवसायको नाफा नोक्सानको जिम्मेवारी लिदै आफ्नो कार्यभार सफलतापुर्वक सम्हालेका थिए ।उनकै नेतृत्वमा म्याक्सिस मलेसियामा फोरजी सेवा व्यावसायीक रुपमा सुरु गर्ने पहिलो कम्पनी बन्न सफल भएको थियो ।अमरासेकराले १३ वर्ष सिङगापुरको सिङ्टेलमा व्यवस्थापनको विभिन्न उच्च तहमा रहेर काम गरेका थिए ।

 त्यसपश्चात् उनले श्रीलङकाको मोबीटेलमा ६ वर्ष प्रमुख कार्यकारी अधिकृतका रुपमा कम्पनीको नेतृत्व गर्दै ५ वटा सेवा प्रदायकहरु रहेको अत्यन्त प्रतिस्पर्धि बजारमा मोबीटेललाई दोश्रो स्थानमा पु-याउन सफल भएका थिए । अमरासेकराले अमेरिकाको न्युयोर्कमा अवस्थित सिराक्युस विश्वविद्यालयबाट कम्प्युटर सिस्टम इन्जीनियरिङ्मा स्नातक तथा स्नातकोत्तर गरेका छन् । यसका साथै उनले अमेरिकाको इलिनोइसमा रहेको बुथ स्कुल अफ बिजनेस, युनिर्भसिटी अफ सिकागोबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर पनि गरेका छन् । अमरासेकरा श्रीलङकाका नागरिक हुन ।

प्रतिक्रिया

सम्बन्धित