भरतपुर मतगणताको सुनुवाई फेरि सर्‍यो

काठमाडौं : सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको वडा नं. १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटको सुनुवाई फेरि सारेको छ । हेर्न नभ्याइएको भन्दै अर्को पेशी आगामी सोमबारका लागि तोकिएको छ । न्यायाधीशद्धय मीरा खड्का र अनिलकुमार सिन्हाको इजलासमा पेशी तोकिएको थियो । यसअघि कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले भरतपुर १९ को मतगणनाका क्रममा च्यातिएका मतपत्र, मतपत्र च्यात्ने माओवादी कार्यकर्तामाथिको मुद्दाको सक्कल मिसिल र निर्वाचन आयोगको सक्कल निर्णय पेश गर्न आदेश दिएको थियो । सबै कागजातहरु दुई साताअघि सर्वोच्चमा पेश भइसकेका छन् । भतरपुर महानगरपालिकामा मतगणना अतिम चरणमा पुगेका बेला माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण शिवाकोटीले मतपत्र च्यातेका थिए । आयोगले १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गरेपछि वडा नम्बर १९ का एमाले उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्बोच्चमा रिट दायर गरेका थिए । उनीहरुको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासले तत्काल पुनः मतदानको निर्णय कार्यन्वयन नगर्न निर्वाचन आयोगलाई अन्तरकालिन आदेश दिएको थियो । भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनबाट मेयरमा माओवादीकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह उम्मेदवार छन् । एमालेबाट मेयरमा देवी ज्ञवाली र उपमेयरमा दिव्या आचार्य प्रतिस्पर्धामा छन् । २० नम्बर वडाको मतगणना बाँकी रहँदा १९ नम्बरको आधा भन्दा बढि गणना भइसकेपछि मतपत्र च्यातिएको थियो । पछिल्लो गणनामा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली माओवादीकी रेणु दाहाल भन्दा ७८४ मतले अगाडि थिए ।

प्रतिक्रिया

सम्बन्धित