कोरोनाविरुद्ध सांसद बस्नेत:
कालोबजारी रोक्न प्रत्येक नागरिक जिम्मेवार बन्न बस्नेतको अनुरोध

Mahesh-Basnet

भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बारे गाउँ–गाउँमा जनचेतनामूलक फैलाउँदै सचेतनामूलक कार्यहरुलाई व्यापकता दिनुभएको छ ।

चैत ४ देखि ८ गतेसम्म माताको प्राण प्रतिष्ठा एवं द्वारकाधिश भगवानको स्थापना गर्न लागिएको सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डू स्थित माता पाथीभरा वैष्णोदेवी मन्दिरको पाँचदिने प्राण प्रतिष्ठाको शनिवार भएको समापन कार्यक्रममा बोल्दै सांसद बस्नेतले संकटको बेला आफ्नो व्यक्तिगत लाभको लागि दगुर्ने व्यक्ति तथा व्यापारीहरु मुलुक तथा जनताको लागि आवश्यक पर्ने व्यक्ति वा व्यापारी नभएको स्पष्ट पार्नुभयो ।

संकटको वेलामा राज्यलाई सहयोग गर्नुपर्ने ठाउँमा असहयोग गर्ने केही तत्वहरु रहेको र त्यसलाई नियन्त्रण गर्न आम जनताले सरकारलाई सहयोग गर्नु जरुरी रहेको औंल्याउँदै उहाँले भन्नुभयो, ‘राज्यलाई मात्र नभई विश्वलाई नै संकट परेको वेलामा सवैले मिली संकटलाई समाधान गर्नुको सट्टा बजारमा कृतिम अभाव गराईदिने, मूल्यवृद्धि गर्ने, तस्करी गर्ने, माफियातन्त्र अघि बढाउने तत्वहरुलाई सरकारले निर्ममतापूर्वक कारवाही गर्छ । बजारमा त्यस्तो पाइएमा १०० नम्वरमा फोन गर्न प्रहरीले सूचना निकालि आग्रह गरेको छ । हामी सवैले प्रहरीलाई खबर गरी कालोबजारी नियन्त्रणमा जिम्मेवार नागरिकको भूमिका निर्वाह गरौं ।’

कोरोनाबाट आतंकित हुने नभई सचेत हुनुपर्ने उल्लेख गर्दै उहाँले केही समयमा नै संसारबाट कोरोना हटाउने विश्वास व्यक्त गर्दै उक्त समयमा सवैले सजकता अपनाउन आग्रह गर्नुभयो । कोरोना भाइरसका कारण नमस्ते गर्ने पूर्वीय संस्कृति र संस्कारले वर्तमान समयमा महत्वपूर्ण स्थान लिन सफल भएको समेत उहाँले बताउनुभयो ।

समयक्रमसँगै भक्तपुरको विकास र समृद्धिको मात्र नभई आध्यात्मीक तथा पर्यटकीय स्थल समेतको विकास हुँदै गएको उल्लेख गर्दै उहाँले विकाससँग सँगै अराजक व्यक्ति वा तत्वहरुको समेत प्रवेश हुने भएकाले त्यसलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो । धार्मिक विकाससँगै आर्थिक उपार्जनसँग जोडिदै स्थानीय उत्पादनमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाँले महिलाले गर्ने सम्पूर्ण कामहरुलाई श्रमसँग जोडि समग्र मुलुकको अर्थतन्त्रमा जोड्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना वस्नेत, विराटनगर पूर्वमेयर ध्रुवराम श्रेष्ठलगायतले शुभकामना तथा कोराना नियन्त्रण तथा संक्रमणबाट बच्न आम नागरिकले विशेष सचेतता अपनाउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित