डलर अपचलनमा मुछिए शतिशलाल, ठूला करदाताले अर्थमा पठायो फाइल

काठमाडौं :

एनसेलको शेयर खरिदमा एक्जिएटाको स्थानिय साझेदार बनेका शतिशलाल आचार्य डलर अपचलनमा मुछिएका छन् । कर कार्यालयले गत बर्ष भएको एनसेलको शेयर खरिद बिक्रीमा विदेशी मुद्रा अपचलनको निष्कर्ष निकालेर अर्थ मन्त्रालयलाई जानकारी दिएपछि यो कुराको रहस्य बाहिर आएको हो । एनसेलको स्थानीय साझेदारको रुपमा आचार्यले २० प्रतिशत शेयर किनबेचका क्रममा विदेशबाट रकम भुक्तानी गर्दा बिदेशी मुद्रा अपचलन गरेको निष्कर्ष निकाल्दै ठूला करदाता कार्यालयले अर्थमन्त्रालयमा जानकारी पठाएको स्रोतले बतायो । स्विडेनको टेलियासोनेराले मलेसियाको एक्जिएटालाई एनसेलको ८० प्रतिशत शेयर बिक्री गर्दा स्थानिय साझेदारको २० प्रतिशत सेयर पनि खरिदविक्रि भएको थियो । टेलियासोनेराको साझेदार रहेका निरज गोविन्द श्रेष्ठले २० प्रतिशत शेयर सिङ्गापुरमा बसोबास गर्ने व्यवसायी शतिशलाल आचार्यकी श्रीमती भावना सिंह श्रेष्ठको नाममा रहेको सुनिभेरा क्यापिटल भेन्चर्स प्रालिलाई बिक्री गरेका थिए । निरजले ११ अर्ब ५७ करोड ६० लाख रुपैयाँमा उक्त शेयर बिक्री गर्दा ११ अर्ब ३२ करोड ६० लाख रुपैयाँ खुद मुनाफा आर्जन भएको भन्दै दुई अर्ब ८३ करोड १५ लाख रुपैयाँ लाभकर तिरेका थिए । तर, सतिशले सुनिभेराको वासलातमा भने एनसेलको २० प्रतिशत शेयर खरिद गर्दा तीन अर्ब ३१ करोड २४ लाख १५ हजार रुपैयाँ मात्र लगानी गरेको देखाएर सिधै कर ठगि गरेको स्पष्ट देखिन्छ । सुनिभेराको बासलातमा नदेखाइएको आठ अर्ब २६ करोड ३५ लाख ८५ हजार रुपैयाँ भुक्तानी एवं प्राप्त गर्ने मुद्रा, व्यक्ति र स्थान (नेपाल या बाहिर) बारे थप अध्ययन गर्नु पर्ने ठूला करदाता कार्यालयको प्रतिवेदनमा उल्लेख छ । एनसेलको शेयर खरिद गर्दा निरज गोविन्दलाई तिर्नु पर्ने रकम समेत नेपालमा भुक्तानी नगरि टेलियासोनेरालाई दिएको उल्लेख गरिएको छ । एक्जिएटाले एनसेलको ८० प्रतिशत शेयर खरिद गर्न एक खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ कर्जा लिएको थियो । त्यसमध्ये एक खर्ब ४४ अर्ब रुपैयाँ मात्र शेयर किन्दा लगानी भएको तथ्य देखिन्छ । यस्तोमा बाँकी रहेको आठ अर्ब ४३ करोड रुपैयाँ एनसेलको २० प्रतिशत शेयरमा आर्थिक हित राख्न लगानी गरिएको हुनसक्ने आशंका समेत कर कार्यालयले गरेको छ । नेपालको दूरसञ्चार नीति अनुसार टेलिकम कम्पनीमा स्थानीयको २० प्रतिशत शेयर हुनै पर्ने प्रावधान उल्लंघन भएको र विदेशी मुद्रा अपचलन गरिएको हुनसक्नेमा थप छानविन गर्नु पर्ने कार्यालयको ठम्याइ छ । टेलियाले सन् २०१५ मा नै निरज गोविन्द श्रेष्ठको नाममा रहेको २० प्रतिशत शेयर आफ्नो ‘कन्ट्रोलिङ इन्ट्रेष्ट’ को रुपमा राखेको थियो । श्रेष्ठको नाममा रहेको शेयर बापत टेलियाले पाँच अर्ब नौ करोड आठ लाख ८० हजार रुपैयाँ प्राप्त गर्ने विवरण पनि वेबसाइटमै राखेको खबर हामीले विजमाण्डु डटकमकाे सहयाेगमा तयार गरेका हाैं । साथै एनसेलको शेयर खरिद बिक्री हुँदा उपलब्ध ‘क्यास’ ३० अर्ब १२ करोड १० लाख ४० हजारमध्ये श्रेष्ठको भागमा पर्ने छ अर्ब दुई करोड ४२ लाख आठ हजार रुपैयाँ पनि टेलियाले नै राखेको थियो । टेलियापछि एनसेलेको मालिक बनेको एक्जिएटाले पनि यहि प्रवृत्ति कायम राखेको कर कार्यालयको ठहर छ । लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख छँदा राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपाललाई ‘ब्ल्याकमेलिङ’ गरी एनसेलको १० अर्व नगद लाभांश पठाउन दबाब दिएका थिए । पछि अख्तियारमा दिप बस्नेत प्रमुख बनेपछि शतिशलालका कारोबारहरु माथि अख्तियारले छानविन गर्दै आएको छ । डलर अपचलनबाट जोगिन अब शतिशलालले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ठूलो धनराशी खर्च गर्नुपर्ने अवस्था श्रृजना भएको छ । एनसेल खरिद गर्नु अघि एक्जिएटाले आचार्यलाई कम्बोडियाको टेलिकम कम्पनी स्मार्ट एक्जिएटा मार्फत १० मिलियन डलर लगानी गरेको थियो । यहि लगानीका कारण एनसेलमा एक्जिएटाले शतिशलाल आचार्यलाई नेपालका सम्पूर्ण कानुनी झण्झटबाट मुक्त गराउन दबाब दिंदै आएको छ । त्यतिबेला शतिशले प्राप्त गरेको उक्त रकम नेपालमा सेटिङ मिलाउन खर्च गर्ने गरी एक्जिएटाले लगानी गरेको समेत चर्चा थियो । सोही कारण एनसेल खरिद विक्रीको लाभकर प्रकरणमा आचार्यले देशका शिर्ष नेताहरुदेखि लिएर प्रशासनसम्म चलखेल गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित