प्रहरीको हतियारमा ठेकेदारको चलखेल

काठमाडौं : नेपाल प्रहरीको हतियार खरिदमा माफियाहरुको चलखेल बढेको छ । गोली, रबरको गोली, दंगा नियन्त्रण गर्ने गाडि, अश्रुग्यास, वाटरक्याननलगायतका अत्याधुनिक सामानहरु खरिद गर्न चलखेल बढेको हो । ती सामान खरिदका लागि आफू अनुकुल टेण्डर सम्बन्धि डकुमेन्ट बनाउन समेत माफियाहरुले चलखेल शुरु गरेका छन् । जसमा ठेकेदार दिपक भट्टले गृहमन्त्रालयमा चलखेल गरिरहेका छन् । आफु एजेन्ट भएको चिनियाँ कम्पनीबाटै दंगा नियन्त्रणका सामान खरिद गर्ने गरी टेण्डर डकुमेन्ट तयार पार्न उनी लागिपरेका छन् । सकभर टेण्डर गरि हतियारसहितका सम्पूर्ण सामानहरु खरिद गर्ने तर लम्विने अवस्था देखिएमा छोटो प्रक्रियाबाट खरिदको व्यवस्था मिलाउन भट्टले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र आईजीपी प्रकाश अर्यालको वरिपरि एजेन्टहरु खटाएको प्रहरी स्रोतले बतायो । नेपाल प्रहरीले गृह मन्त्रालयमा पेस गरेको २६ प्रकारका शक्तिशाली हतियार खरिदमा पनि उनले गुप्तचर विभागका पुर्व प्रमुख देविराम शर्मामार्फत चलखेल गरेका छन् । वामदेव गृहमन्त्री छँदा पनि उनै भट्टले हतियार खरिद गरेका थिए । आईजीपी उपेन्द्रकान्त अर्यालको पालामा प्रहरीले एमपी ५, जीपीएमजी, एमएमजी, एके ४७, एम १६, एलएमजी (लब मेसिनगन), एसएमजी (सर्ट मेसिन गन)लगायतका अत्याधुनिक राइफल तथा रकेट लन्चर, ५१ मोटोरलगायतका शक्तिशाली हतियार खरिदको प्रस्ताव गरे पनि अझै टेण्डर नै हुन सकेको छैन । त्यसमा पनि भट्टले चलखेल गरेका छन् । प्रहरी महानिरीक्षकमा प्रकाश अर्याल नियुक्त भएपछि उनले पनि टेण्डर प्रक्रियामा खासै चासो देखाएका छैन । अर्याललाई टेण्डर भन्दा पनि आफ्नो पदको डर छ । असोज मसान्तसम्म सामान बुझाउने गरी टेण्डर निकाली स्वीकृत गर्न सकिने अवस्था रहेपनि भट्टको कमिसन प्रस्तावले गर्दा गृहमन्त्री शर्मा नै अन्यौलमा परेको गृह मन्त्रालय स्रोत बताउँछ । सरुवा, बढुवा र टेण्डरमा पारदर्शिता अपनाउने गृहमन्त्री शर्माको अडान भट्टको चलखेलका कारण परिवर्तन हुन सक्ने खतरा बढेको प्रहरी स्रोत बताउँछ । पछिल्लो समय हाइड्रोपावरको समेत दलाली काम गर्दै आएका भट्टले गृह मन्त्रालयका ठूला ठेक्काका डिल गर्दै आएका छन् । अबकाश प्राप्त एआईजी राजेन्द्रसिंह भण्डारीलाई हतियार खरिद प्रक्रिया अगाडि बढाउन दबाब आएपछि उनले ठेकेदारको डिजाइनमा हतियार खरिदको काम नगर्ने बरु जहाँ जान पनि तयार रहेको भन्दै चेतावनी दिएका थिए । त्यसलगत्तै उनको तालिम केन्द्रमा सरुवा भएको थियो । ठेकेदार भट्ट पूर्व गृहमन्त्री गौतमका विश्वाशिला पात्र हुन् । नेपाल प्रहरीको डीआईजी बढुवा प्रकरणमा पनि भट्ट जोडिएका थिए । बरिष्ठता रोलक्रममा निकै पछाडी रहेका डीआईजी प्रतापसिंह थापालाई भट्टले ब्रिफकेशको चलखेल गरी एआईजीमा बढुवा गराएका थिए । । ब्रिफकेश लेनदेनको आधारमा डीआईजी बीरेन्द्रबाबु श्रेष्ठ र थापाको बढुवा भएको इंगित गर्दै एसएसपी रमेश खरेलले भाषण नै गरेर मन्त्री र प्रहरी नेतृत्वलाई त्यतिबेला नै चेचावनी दिएकाे खबर अाजकाे यूनाइटेड पाेष्ट साप्ताहिकले छापेकाे छ । गौतमका विश्वास पात्र भट्टले नेपाल प्रहरी मात्र नभई सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागको सरुवा बढुवामा पनि चलखेल गर्दै आएका छन् । सशस्त्र प्रहरीको डीआईजी बढुवा समेत भट्टले खेल्ने अवसर पाएका थिए । नेपाल प्रहरीको बढुवाले त अझैसम्म निकाश पाउन सकेको छैन् । नेपाल प्रहरीको एसएसपी र डिआईजीको बढुवामा पनि भट्ट र दिपक मल्होत्राले अहिले चलखेल गरिरहेका छन् । नेपाली सेनामा भट्टले राशन ठेक्का र हतियारलगायतका सामाग्रीमा हात हालिसकेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्की र ठेकेदार भट्टबीच पारिवारिक घनिष्ठ सम्वन्ध रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित