भक्तपुरका चारवटै नगरपालिकामा सुरक्षित एम्बुलेन्स तयारी अवस्थामा

 ambulance

भक्तपुर । कोभिड–१९ सङ्क्रमितलाई आइसोलेटेड वार्डसम्म पुर्याउनका लागि जिल्लाका चार वटै नगरपालिकाले एम्बुलेन्सलाई तयारी अवस्थामा राखेका छन् । सङ्क्रमित बोक्न स्वरुप परिवर्तन गरी तयारी अवस्थामा राखिएका चार एम्बुलेन्सका चालकलाई भक्तपुर अस्पतालमा सुरक्षाका सामग्री प्रदान गरिएको छ ।

आफ्नो स्वास्थ्य जोखिममा पारेर बिरामी बोक्नुपर्ने अवस्था आएको गुनासो एम्बुलेन्स चालकले गरिरहेका बेलामा नेपाली सेना वीरदल गण सूर्यविनायकका गणपति कर्णेल शिवप्रसाद पौडेलको पहलमा ल्याइएको सामग्री बिहीबार चालकलाई हस्तान्तरण गरिएको हो ।

चालकलाई गणपति पौडेलले सुरक्षित पोशाक, पर्सनल प्रोटेक्सन इक्विप्मेण्ट, एन नाइन्टिफाइभ मास्क र भाइरस निर्मलीकरण स्प्रे किट एकएक थान प्रदान गरे।

मध्यपुरथिमि नगरपालिकाले रु ४० लाखमा ल्याएको नयाँ एम्बुलेन्स र जिल्लाका सूर्यविनायक, चाँगुनारायण र भक्तपुर नगरपालिकाले पनि चलाएका एम्बुलेन्सको स्वरुपलाई परिवर्तन गरी चालक र बिरामीबीच कुनै सम्पर्क नहुने गरेर कोरोना सङ्क्रमित मात्रै बोक्न तयारी अवस्थामा राखिएको छ ।

सामाग्री हस्तान्तरणपछि चार एम्बुलेन्स चालकलाई भक्तपुर अस्पतालका चिकित्सक टोलीले पिपिइ , पञ्जालगायत सुरक्षित सामग्री लगाउने तरिका र कोरोना बिरामीलाई ह्यान्डलिङ्गÞ गर्ने तरिकाबारेमा तालीम प्रदान गरेको छ ।

गणपति पौडेलले भक्तपुर अस्पताललाई कोरोना सङ्क्रमितले मात्रै प्रयोग गर्ने गरी एक थान विशेष प्रकारको स्ट्रेचर पनि प्रदान गरेका छन् । अस्पतालमा प्रयोग भइरहेको फलामको स्ट्रेचरमा अन्य बिरामी ओसार्नुपर्ने भएकाले एम्बुलेन्सबाट बिरामी झारेर आइसोलेशन वार्डसम्म लैजान अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमलाई हस्तान्तरण गरिएको हो ।

यता जिल्लाका अस्पतालले आइसोलेशन वार्ड तयार पारे पनि कोभिड–१९ का बिरामी आएमा उपचार गर्ने सामान्य सुरक्षित सामग्रीसमेत नभएको गुनासो गरेपछि जिल्लाका प्रत्येक अस्पताललाई सुरक्षित पोशाक तथा पिपिई, एन नाइन्टिफाइभ मास्क र भाइरस निर्मलीकरण गर्ने स्प्रे प्रदान गरिएको छ ।

वीर दल गणकै समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले कोरोना सङ्क्रमितको उपचारमा खटिने चिकित्सकका लागि ल्याएको पिपिई ५० थान, एन नाइन्टीफाइभ मास्क ५० थान र भाइरस निर्मलीकरण स्प्रे किट १० थान जिल्लाका सबै अस्पताललाई वितरण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित