सार्कमा कोरोनाको प्रभाव:
५२ को मृत्यु, २ हजार ९ सय १८ संक्रमित

saarc
काठमाडौं । विश्वभरि नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसले सार्क क्षेत्रमा हालसम्म जम्मा ५२ जना मानिसको मृत्यु भएको छ । सार्क सदस्य राष्ट्रमा सबैभन्दा ठूलो देश मानिएको भारतमा सबैभन्दा धेरे २७ जनाको मृत्यु भएको छ । हालसम्म सार्कका ८ देशमा २ हजार ९ सय १८ जना संक्रमित भेटिएका छन् ।

नेपालको छिमेकी राष्ट्र चीनबाट सुरु भएको भाइरसका कारण हालसम्ममा सार्क सदस्य राष्ट्रहरुमा सबैभन्दा धेरै भारतमा २७ जनाले ज्यान गुमाएका छन् । भारतमा १ हजार २७ जना संक्रमित देखिएकोमा २७ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यसपछि पाकिस्तानमा हालसम्म १५ सय ९७ जना संक्रमित भएका छन् भने १५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अर्को सार्क सदस्य राष्ट्र बंगलादेशमा ५ जनाको मृत्यु भएको छ ।  बंगलादेशमा भने ४८ जना संक्रमित देखिएकोमा ५ जनाले ज्यान गुमाइसकेका छन् ।

अफगानिस्तानमा हालसम्म १२० जना संक्रमित फेला परेका छन् । हालसम्म अफगानिस्तानमा ४ जनाको मृत्यु भएको तथ्यांंक सार्वजनिक भएको छ ।

श्रीलंकामा भने १ सय १७ जना संक्रमित मध्ये १ जनाको मृत्यु भएको छ । श्रीलंकाले सुरुदेखि नै कर्फ्यु लगाउँदै आएको छ । माल्दिभ्समा जम्मा १७ जनालाई संक्रमण देखिएको छ । हालसम्म कुनै पनि मानवीय क्षति नब्यहोरेको माल्दिभ्समा पछिल्लो २४ घन्टामा १ जना मात्र संक्रमितको पहिचान भएको छ ।

नेपालमा भने हालसम्म ५ जना संक्रमित भेटिएको तथ्यांक सार्वजनिक भएको छ, त्यसमध्ये १ जना उपचारपछि पूर्ण निको भइसकेको जनाइएको छ । सार्क सदस्य देशहरुमा सबैभन्दा कम संक्रमित संख्या भूटानमा रहेको जनाइएको छ । हालसम्म भूटानमा ४ जनामा संक्रमण देखिएको छ ।

चीनबाट सुरु भएको भाइरसका कारण हालसम्म सबैभन्दा धेरै इटालीका मानिसहरुको मृत्यु भएको छ भने त्यसपछि स्पेनमा मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसका कारण ३३ हजार ९ सय ५६ जनाको मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित