एक वर्षको सजाय एक दिनमै भुक्तान

jail
जनकपुरधाम ।
धनुषाको धनुषाधाम नगरपालिका–९ का दिपु भनिने दीपेन्द्र यादव डाँका मुद्दामा दोषी ठहर भएर एक वर्ष कैद सजाय भुक्तानका लागि ११ चैत २०७६ मा महोत्तरीको जलेश्वर कारागार पुगेका थिए । अदालतको फैसलाअनुसार यादवलाई ११ चैत २०७७ मा रिहा हुने गरी कारागार पठाइएको थियो । तर, उनी जेलमा एक दिन मात्रै बसेर रिहा भएका छन् ।

जलेश्वर कारागार शाखाका जेलर मकसूदन महासेठका अनुसार प्रतिदिन ३ सय रुपैयाँका दरले जरिमाना तिरेर उनी रिहा भएका हुन् । धनुषा जिल्ला अदालतमा निवेदन साथ उपस्थित भएपछि अदालतले उनलाई कैद सजायबापतको जरिमाना लिएर रिहा गर्न आदेश दिएको हो ।
विगतमा कैदीलाई यस्तो सुविधा थिएन तर कोरोना भाइरसको महामारीको जोखिम नियन्त्रणका लागि ७ चैतमा सर्वोच्च अदालतको पूर्ण बैठकबाट पूर्वतयारी तथा अपनाउनुपर्ने सावधानीका सन्दर्भमा २३ बुँदे परिपत्र जारी गरिएको थियो । त्यही परिपत्रको छैटौं बुँदामा उल्लेख छ, ‘महान्यायाधिवक्ताको कार्यालयबाट अनुरोध भइआएको र विपद्को यो विशेष परिस्थितिमा कारागारमा रहने कैदीबन्दीको भीडभाड कम गर्ने प्रयोजनार्थ मुलुकी फौजदारी कार्यसंहिता, २०७४ को दफा १५५ अनुसारको कैदबापत रकम लिई कैदबाट छोडी पाउन निवेदन परेमा रकम लिई कैदबाट छोडिदिन उपयुक्त देखिए न्यायाधीशको इजलासबाट आवश्यक आदेश गरी छोड्न व्यवस्था गर्ने ।’

कोरोना भाइरस संक्रमणको जोखिमका कारण एक वर्षसम्म कैद ठहर भएका कैदीलाई अदालतले धमाधम रिहा गर्न थालेको छ । जलेश्वर जेलका जेलर महासेठका अनुसार छोड्नका लागि २८ जनाको सूची बनाइएको छ तिनीहरूलाई क्रमशः छोडिनेछ ।

सर्वोच्चले मातहतका सबै अदालतमा परिपत्र पठाएपछि एक वर्षसम्म कैद सजाय ठहर भएका र कैद सजाय काटिरहेका कैदीबन्दी धमाधम निवेदनसहित अदालतसमक्ष उपस्थित हुन थालेका छन् ।

यसरी नै देशका सबै जेलबाट एक वर्ष वा सोभन्दा कम सजाय भुक्तान गरिरहेका कैदीबन्दीको कैदबापत प्रतिदिन ३ सय रुपैयाँ जरिमाना लिएर रिहा गर्न सिफारिसहरू सम्बन्धित अदालतसमक्ष गइरहेको कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कणेलले बताए । ‘सर्वोच्च अदालतको पूर्ण बैठक नै बसेर दैनिक कैदबापत ३०० रुपैयाँ जरिमाना लिएर इजलाससमक्ष पेस गर्ने निर्णय भएकाले देशभरका कारगारबाटै सिफारिस भइरहेको छ,’ महानिर्देशक कणेलले भने, ‘कुल कति जनाको सिफारिस भइसक्यो र कति जना कैदी रिहा भइसके भन्ने तथ्यांक आइसकेको छैन ।’

देश लकडाउनको अवस्थामा रहेका कारण ती तथ्यांक संकलनमा अलि कठिनाइ भएको उनले बताए । काठमाडौं उपत्यकाबाट मात्र ४० जना जति कैदी रिहा भएको उनले बताए । राजधानी दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित