माओवादीले टुंग्यायो मन्त्रीको नामावली

काठमाडौं । सत्तारुढ माओवादीले आफ्नोतर्फबाट मन्त्री हुनेको नामावली लगभग टुंग्याएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको प्रतिनिधित्व गर्ने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेका छन् । मन्त्रीको नामावली टुंग्याउन माओवादीले कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्मा रहेको कार्यदल गठन गरेको थियो । कार्यदलको सिफारिसअनुसार र केन्द्रीय कार्यालयले अन्तिम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो । माओवादीले प्रदेश नं. १ बाट शिवकुमार मण्डलको नाम टुंग्याएको छ । उनलाई आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । उनी मोरङ–४ बाट निर्वाचित सांसद हुन् । त्यस्तै प्रदेश नं. २ बाट प्रभु साहले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् । सोही प्रदेशका गिरिराजमणि पोखरेललाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिने तय भएको स्रोतको दाबी छ । माओवादीले प्रदेश नं.३ बाट रामेछाप–२ का सांसद श्यामकुमार श्रेष्ठलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने भएको छ ।

 प्रदेश नं .४ का हितराज पाण्डेलाई दोहोर्‍याउने की तनहुँकी आशा खनाललाई मन्त्री बनाउने भन्नेबारे छलफलमै छ । अहिलेसम्म सो प्रदेशका कसैको पनि नाम नपठाइएको स्रोतको भनाइ छ । प्रचण्ड नेतृतवको सरकारमा स्थानीय विकास मन्त्री रहेका पाण्डेलाई पछि पशुपंक्षी विकास मन्त्रालय पठाउन खोजिएको थियो । तर उनले अस्वीकार गरेका थिए । राप्रपा अध्यक्ष कमल थापालाई स्थानीय विकास मन्त्रालय दिन पाण्डेलाई अचानक उनलाई हटाइएकोले यसपालि पाण्डेलाइै दोहोर्याउने विषयमा पार्टीमा छलफल छ । तर, पार्टीको तर्फबाट महिलालाई पनि पठाउनुपर्ने भएकोले तनहुँकी खनालको नाम पनि प्रस्ताव भएको छ ।

 आशाले अवसर पाए महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउने कार्यदलका एक सदस्यले बताए । प्रदेश नं. ५ का कृष्णबहादुर महरा उपप्रधानसहित परराष्ट मन्त्रालयको जिम्मेवारीमा छन् । त्यस्तै प्रदेश ६ का जनार्दन शर्मा प्रभाकर गृहमा छन् । माओवादीले प्रदेश नं ६ का अर्का सांसद महेन्द्रबहादुर शाहीलाई पनि अवसर दिदैंछ । कालिकोटका सांसद शाहीले उर्जा मन्त्रालयको जिम्मेवारी पाउनेछन् । प्रवक्ता पम्फा भुसालले प्रत्यक्ष निर्वाचन जितेका, यसअघि मन्त्री नभएकाहरुलाई समावेशी आधारमा मन्त्री छनौट गर्ने पार्टीको नीति रहेको बताइन् । तर को–को मन्त्री बने भन्ने आफुलाई जानकारी नभएको बताइन् ।

१० मन्त्रालयमा माओवादी दाबी माओवादी केन्द्रले गृह, परराष्ट्र र सहरी विकास मन्त्रालय पाइसकेको छ । उसले थप सात मन्त्रालय दाबी गरेको छ । त्यसमध्ये सामान्य प्रशासन मन्त्रालय, आपूर्ति व्यवस्था मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कृषि मन्त्रालय पनि माओवादीलाई दिन कांग्रेस सहमत भइसकेको छ । तर, भौतिक योजना तथा यातायात मन्त्रालय र वन तथा भू–संरक्षण मन्त्रालय पाउनुपर्ने माओवादी दाबीमा कांग्रेस सहमत भइसकेको छैन । माओवादी प्रवक्ता पम्फा भुसालले राप्रपा, संघीय समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने स्थितिमा भने पार्टीको दाबी घट्न सक्ने बताइन् ।

राप्रपा र फोरमलाई ल्याउन पहल गर्ने

सत्तारुढ दल कांग्रेस र माओवादी राप्रपा र संघीय समाजवादी फोरमलाई पनि सरकारमा सहभागी गराउन पहल गर्ने तयारीमा छन् । देउवा प्रधानमन्त्री बन्दा भोट हालेका यी दुई दललाई सरकारमा पनि सहभागी गराउँदा संविधान संशोधन, तेस्रो चरणको निर्वाचन, प्रदेश र केन्द्रीय संसद्को निर्वाचन सहज हुने बुझाइ सत्तारुढ दलको छ । ‘यो सरकार संविधान कार्यान्वयन गर्ने, निर्वाचन गर्ने कार्यभारका लागि बनेको हो त्यसैले धेरै दायित्व पूरा गर्नुपर्ने अवस्था छ,’ उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले भने, ‘त्यसैले राजनीतिलाई सहज हुने गरी सरकारमा सहयोग गर्ने सबै दललाई मिलाएर लाने तयारी छ ।’ राप्रपा, संघीय समाजवादी फोरमलाई सरकारमा सहभागी गराउन पहल भइरहेको उनी बताउँछन् ।नयाँ पत्रीकामा खबर छ

प्रतिक्रिया

सम्बन्धित