निर्वाचनमा १ लाख ६३ हजार ८२३ सुरक्षाकर्मी परिचालन

काठमाडौँ । दोश्रो चरण अन्तर्गत असार १४ मा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा एक लाख ६३ हजार ८२३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी यो निर्वाचनमा उक्त सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिन लागेको जानकारी दिएका छन् । प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा हुने निर्वाचनका लागि चार हजार ५८१ मतदान स्थल र आठ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ ।

 निर्वाचनमा भित्रि घेरमा नेपाल प्रहरी र बाहिरी घेरमा सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग तथा म्यादी प्रहरी खटाइनेछ । नेत्रविक्रम चन्द नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी र आन्दोलनरत राष्ट्रिय जनता पार्टीको गतिविधिलाई सुरक्षा निकायले उच्च निगरानीमा राखेका छन् । दोस्रो चरणअन्तर्गतको यो निर्वाचनमा ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी भई १५ हजार ३८ प्रतिनिधि निर्वाचित गर्नेछन् । मतदानमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित