भरतपुर प्रकरणमा सर्वोच्चको आदेश : आइतबारसम्म यथास्थितिमा राख्नू

काठमाडौं : सर्वोच्च अदालतले चितवनको भरतपुर वडा नं. १९ मा पुनः मतदान गर्ने निर्णय २८ गतेसम्म कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चले निर्वाचन आयोगको पछिल्लो निर्णयलाई अगामी आइतवारसम्म यथास्थितिमा राख्न आदेश दिएको हो । भरतपुरमा पुनः मतदान गर्ने निर्णय खारेजको माग गर्दै प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्रशम्सेर राणाको इजलाशले हालको प्रक्रिया यथास्थितिमा राख्न आदेश दिएको हो । भरतपुरको मतगणना विवादमा निर्वाचन आयोगको गत शनिबार भरतपुर १९ को मतदान अबैध घोषित गरी नयाँ निर्वाचनको मिति घोषणा गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो । भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा भरतपुर १९ निवासी अधिवक्ता तुलसी पाण्डेसहित त्यहीं वडाका सदस्य उमेदवार गुञ्जमान विश्वकर्माले आइतवार रिट निवेदन दर्ता गराएका थिए । भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा जेठ १४ गते मध्यरातमा मतपत्र च्यातिएको थियो । निर्वाचन आयोगले मतदान स्थल कब्जा भएको ठहर गर्दै पुनः मतदान गर्ने निर्णय गर्‍यो । तर, एमालेले यो निर्णय अस्वीकार गर्ने भन्दै संसद अवरोध समेत कायम राखेको छ । निवेदकले भरतपुरको पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय बदर गर्न र च्यातिएका ९० मतपत्र बदर मानेर मतगणना कार्य सुचारु गर्न गराउन उत्प्रेषणयुक्त परमादेश माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित