मोर्चा सहमति नजिक, ५ बजे पुनः बैठक बस्ने

morchaa baithak in baluwatarकाठमाडौं : मधेसी मोर्चाले परिमार्जनसहितको संविधान संशोधन गरिए स्थानीय तहको निर्वाचनमा सहभागी हुने जनाएका छन्। शुक्रबार सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रसँग बालुवाटारमा भएको छलफलमा मोर्चा नेताहरुले संविधान संशोधन अडान दोहोर्‍याएका थिए। मोर्चा नेताहरुले संविधान संशोधनको आधार पनि सरकारसँग प्रष्टयाउन माग गरे। संविधान संशोधन र स्थानीय चुनावबारे टुंगो लगाउन सरकार र मधेसी मोर्चाबीच ५ बजे पुनः वार्ता गर्ने सहमति भएको छ । सरकारका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता गर्ने नेताहरुलाई बधाई दिँदै वैशाख ३१ को स्थानीय चुनावमा भाग लिन आग्रह गरेका थिए । तर, मधेसी नेताले भने संविधान संशोधनको मस्यौदा परिमार्जन र पारित गर्ने पूर्वसहमति दोहो-याएपछि दाहालले आजै सत्ता घटकको बैठक बसेर बेलुकी ५ बजे मोर्चासँग फेरि वार्ता गर्ने वचन दिएका छन् । ‘परिमार्जनसहितको संविधान संशोधन गर्न सरकार तयार भए हामी निर्वाचनमा आउँछौं,’ राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले भने–‘सरकारसँग संशोधन विधेयक पास हुने आधार पनि माग गरेका छौं।’ प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयक कसरी पास गराउनेबारे सत्ता साझेदार दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गरेर जवाफ दिने बताएका छन् । त्यसका लागि आजै दिउँसो ३ बजे सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुको बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, सशांक कोइराला, प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता वर्षामान पुन ‘अनन्त’, मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अशोक राई, राजेन्द्र श्रेष्ठ, अनिलकुमार झा, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, हृदयेश त्रिपाठी लगायत सहभागी थिए। यता मधेसी मोर्चाले पनि आफ्नो धारणा बनाउन बिजुली बजारमा बैठक बसिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित