म्याच फिक्सिङमा नेपाली फुटबलरको अपिल खारेज

match fixकाठमाडौँ, ९ भदौ । म्याच फिक्सिङमा संलग्न  पाँच नेपाली खेलाडीले गरेको आजीवन प्रतिबन्ध फुकुवाको अपिल एसियाली फुटबल महासङ्घ (एएफसी) ले खारेज गरेको छ । एएफसीको अपिल कमिटीको आज बसेको बैठकले सो अपिल खारेज गरेको हो । तत्कालीन कप्तान सागर थापा, विकास सिंह क्षेत्री, रितेश थापा, सन्दिप राई र तत्कालीन प्रशिक्षक अन्जन केसीले म्याच फिक्सिङ गरेको पुष्टि गर्दै यसअघिको एएफसी निर्णयलाई निरन्तरता दिएको एएफसीको अपिल कमिटीद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

 खेल मिलेमतोमा पक्राउ पर्नासाथ एएफसीले आजिवन प्रतिबन्ध लगाएकोमा सो निर्णयमाथि पुनःविचार गर्न उनीहरुले एएफसीसमक्ष निवेदन दिएका थिए । एएफसीको निर्णयले फुटबल करिअर पुनः अघि बढ्ला कि भन्ने उनीहरुको आशा समाप्त भएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले गत वर्षको असोज २७ मा म्याच फिक्सिङको आरोपमा तत्कालीन कप्तान थापासहित क्षेत्री, रितेश, सन्दिप तथा प्रशिक्षक केसीलाई पक्राउ गरेको थियो ।

  झन्डै एक महिना गहिरो अनुसन्धानपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।त्यतिबेलको अनुसन्धानअनुसार उनीहरूले सन् २००८ मा भएको मर्डेका कपमा अफगानिस्तानसँग २–२ गोलको बराबरी खेल्ने सर्तमा प्रतिखेलाडीले ५ हजार अमेरिकी डलर, सन् २००९ को साफ च्याम्पियनसीपमा जम्मा तीन हजार ६१ अमेरिकी डलर लिई दामासाहीले बाँडेको, सन् २०११ मा मलेसियासँगको मैत्रीपूर्ण खेलमा शुन्य बिरुद्ध दुई गोलले खेल हार्ने सर्तमा प्रतिखेलाडी पाँच हजार अमेरिकी डलर लिएको अनुसन्धानका क्रममा खुलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित