अख्तियारले कारबाही गरेका प्रहरी बोक्दै सिलवाल चुनाबी प्रचारमा, गुनबहादुरले पनि दिए टक्कर

काठमाण्डौ। स्थानिय कार्यकर्ताहरुले साथ दिन छाडेपछि ललितपुर क्षेत्र नम्वर १ बाट नेकपा एमालेका उम्मेदबार बनेका  नवराज सिलवालको प्रचार प्रसारमा अख्तियारले भ्रष्टाचार अभियोगमा कारबाही गरेका प्रहरी अधिकृतहरु देखिन थालेका छन् ।

 शुक्रबार गोदावरिमा सिलवालको घरदैलो कार्यक्रममा पुर्व एसएसपी वसन्तराज कुँवरलाई देखे पछि स्थानियबासी नै अचम्ममा परेका छन् । भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही गरिसकेका कुँवर अहिले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई सराप्दै हिंड्न थालेका छन् ।

 किनकी, गृहमन्त्री छँदा कुँवरको जागिरको अबधि सिटौलाले थपेका थिएनन् । यता, सिलवालसँगको मिटर ब्याजको कारोबारको कारण १५ महिना लामो जेल जीवन बिताएका गुनबहादुर थापा पनि उक्त क्षेत्रबाट चुनावमा उठेका छन् । गुनबहादुरले पनि ललितपुर क्षेत्र–१ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएसँगै चुनावी मैदानमा पनि भिडन्त हुने भएको हो ।

 वाम गठबन्धनबाट नेकपा एमालेको भागमा ललितपुरको दुई वटा क्षेत्र परेपछि सिलवालले उम्मेदवारी पाएका हुन् भने आफूविरुद्ध झुटा मुद्दा लगाएर जेल पठाएको भन्दै न्याय खोज्दै सिलवाललाई हराउन गुनबहादुरले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । मिटरब्याजको कारोबार गर्ने क्रममा घरजग्गा व्यवसायी गुनबहादुरलाई सिलवालले बैंकिङ कसुरको झुटो मुद्दा लगाएर भीमफेदी कारागार पुर्याएका थिए । सात पटकसम्म पत्रकार सम्मेलन गरेर आफूलाई सिलवालले अन्याय गरेको दाबी गर्दै आएका गुनबहादुरका छोरा सागरले २०७३ भदौ २१ मा अख्तियारमा उजुरी हालेपछि घाउको खाटो उप्किएको थियो ।

 अख्तियारले छानविनका लागि प्रहरी प्रधान कार्यालयसँग प्रतिक्रिया मागेर प्रतिवदेनसमेत तयार पारिसकेको थियो । छोराले हालेको उजुरीमा सिलवालले आफ्नो बुबालाई विभिन्न आरोप र झुटा मुद्दा लगाएर अवैध रुपमा पैसा असुली मानसिक यातना दिँदै फसाउँदै आएको र परिवारका सदस्यलाई विभिन्न बहानामा फसाईदिने धम्की दिएको कुरा उल्लेख गरेका थिए ।

 अख्तियारले कात्तिक १ गते उजुरीको सम्बन्धमा के भएको हो भनेर प्रहरी प्रधान कार्यालय नक्साललाई चलानी नम्बर ५२२ राखेको प्रतिक्रिया पनि मागेको थियो । तर, निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीको दबाबमा छानविन प्रतिवेदन सार्वजनिक नगरेको भन्ने खबर बाहिर आएको छ । सिलवालले गुनवहादुरलाई फसाउने क्रममा बैंकिङ कसुरको झुटो मुद्दा मात्र नभई मानव ओसार पसारको पनि मुद्दा लगाएर इटहरी प्रहरी कार्यलय पठाएका थिए।

  प्रहरीले नै गरेको अनुसन्धानका क्रममा उक्त मुद्दा झुटो सावित भए पछि गुनबहादुर निर्दोश साबित भइ न्याय पाएका हुन् । सिलवालकै झुटो मुद्दाको कारण १५ महिनासम्म जेलमा बस्नु परेकाले जनताबाट न्याय पाउन भन्दै  गुनबहादुरले आफ्नो स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।सिलवालले आफुमाथि पदको दुरुपयोग गरेर ठूलो अन्याय गरेको भन्दै राज्यले आफ्नो कुरा नसुनेकाले जनतामाझ आएको गुनबहादुरले बताएका छन् ।

  उनले सत्यको लडाईलाई चिरेर सिलवाललाई हराउने समेत बताएका छन् । उनले भने–‘सिलवालले पदमा रहँदा मेरो आर्थिक, सामाजिक रुपमा सबै सिध्याए, अब फेरि राजनीतिको आड लिएर मलाई यो समाजमा बाँच्नै नदिने देखेर उनैलाई हराउन यही क्षेत्रमा आएर चुनाव लड्न लागेको हुँ ।

प्रतिक्रिया

सम्बन्धित