बलिउडकी महिला सुपरस्टार श्रीदेवीको निधन

काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ । ५५ वर्षीया श्रीदेवीको हृदयाघातका कारण दुबईमा निधन भएको हो । श्रीदेवीलाई हिन्दी फिल्मको पहिलो महिला सुपरस्टार भनिन्थ्यो। सन् २०१३ मा पद्मश्री सम्मान पाएकी उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, फिल्म इन्डस्ट्रीका हस्तीहरु तथा त्यस बाहिरका धेरै व्यक्तिहरुले शोक व्यक्त गरेका छन् ।

श्रीदेवी भतिजको विवाहका लागि दुबई गएकी थिइन्। भारतीय समाचार संस्था पीटीआईका अनुसार अभिनेतासमेत रहेका देवर सञ्जय कपुरले श्रीदेवीको निधन भएको पुष्टि गरे। श्रीदेवीको निधनलगत्तै श्रीदेवीको मुम्बईस्थित घरमा फिल्मकर्मी एवं शुभेच्छुकको ठूलो भीड लागेको छ।

श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो । उनले आफ्नो पहिलो करियरको शुरुआत केबल चार वर्षको उमेरदेखि नै गरेकी थिइन् । उनी चार वर्षको छँदै तमिल फिल्म ‘कन्धन करुणई’मा अभिनय गरेकी थिइन् । उनले बाल कलाकारको रुपमा तेलुगु र मलयालम फिल्ममा पनि अभिनय गरिन् ।

दक्षिण भारतीय फिल्ममा काम गरेपछि श्रीदेवीले सन् १९७९ मा मुख्य कलाकारको रुपमा ‘सोलहवा साल’बाट हिन्दी फिल्ममा अभिनय शुरु गरेकी थिइन् । ८० को दशक हिन्दी फिल्ममा हिरोइनको हिसाबमा श्रीदेवीको दशक नै बन्यो । उनले हिम्मतवाला, तोहफा, मिस्टर इन्डिया, नगीना जस्ता सुपरहिट फिल्ममा अभिनय गरिन् । उनलाई ‘लेडी अमिताभ बच्चन’ भन्न थालियो ।

जितेन्द्र र श्रीदेवी मिलेर हिम्मतवाला, तोहफा, जस्टिस चौधरी र मवाली जस्ता सुपरहिट फिल्म दर्शकमाझ ल्याएका थिए ।

सन् १९९७ मा फिल्म ‘जुदाई’ पछि श्रीदेवी १५ वर्षका लागि फिल्मबाट बाहिर रहिन् । तर, सन् २०१२ मा इङ्लिस(भिङ्लिस फिल्ममा अभिनय गरिन् । यो फिल्म पनि सुपरहिट भयो ।

सन् २०१७ माा श्रीदवेको फिल्म ‘मम’ रिलिज भएको थियो । श्रीदेवीले फिल्ममा लामो समय काम गरिन् र ‘मम’ उनको ३ सय औं फिल्म थियो ।

प्रतिक्रिया

सम्बन्धित