संविधान खिलापमा नजाँदा राम्रो

प्रधानमन्त्री केपी शर्मा ओलीबाट जनताले विकास, शान्ति र विधिको शासनको अपेक्षा लिएका छन् । ओलीले आफूलाई संविधान रक्षाका लागि केन्द्रित गर्नुपर्छ । संविधानको खिलाफ जाने होइन । तर, ओलीका पछिल्ला गतिविधिहरू संविधान विपरित देखिएका छन् । ओलीले सर्वोच्च अदालतको आदेश विपरित युवराज खतिवडालाई अर्थमन्त्री बनाएर संविधानको खिलाफ गएका छन् ।

अर्थमन्त्री बनेका खतिवडाको योग्यता र क्षमतामा कुनै शंका छैन । खतिवडा अर्थमन्त्रीका लागि योग्य व्यक्ति हुन् । तर, ओलीले जसरी उनलाई मन्त्री बनाएका छन्, त्यो प्रक्रिया गलत छ । खतिवडालाई राष्ट्रियसभा सदस्यमा नियुक्त गरेपछि परेको रिटमा सर्वोच्चले दिएको आदेशलाई ओलीले अनिवार्य रुपमा मान्नु पर्ने थियो । ओलीले आफू संविधान र कानून भन्दामाथि छु भनेर देखाइ छाडे ।

खतिवडालाई जसरी पनि मन्त्री बनाएर विधिको साशानलाई चुनौती दिन्छु भन्ने ओलीको इच्छा देश र जनताका लागि हानिकार छ । त्यति मात्रै होइन ओलीले आफै प्रधानमन्त्री बन्ने बेला जुन बाटो अपनाए त्यो पनि गलत थियो । सांसद पदको सपथ नलिएको व्यक्ति बलजफ्तीले प्रधानमन्त्री बने । ओलीको आलोचना गर्न कोही पनि तम्सिएनन् । ओली प्रधानमन्त्री बनेपछि केही पाउँछु कि भन्ने आस हुन सक्छ । संविधानको खिलाफ जानेविरुद्ध बोल्नुपर्छ । होइन भने संविधानको उल्लंघन हुनेछ ।

ओलीले ठीक गरेको सबैलाई लाग्न सक्छ । कदापि त्यस्तो होइन । संविधान जानेका र बुझेकाहरूले त्यो विषयलाई मसिनो गरेर अहिले नै आलोचना गर्नुपर्छ । होइन भने अर्को पटक जितेर आउनेले पनि ओलीकै कार्यशैली अपनाउन सक्छन् । त्यस्तो अवस्था आयो भने मुलुकमा निरंकुशता आउनेछ । ओलीको यो कार्यशैली रोक्नुपर्ने अनिवार्य भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित