तारागाउँको सेयर विक्रीमा मन्त्रीको गोप्य डिल

rabindraadh

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार रोक्ने भनेर दिन दिनै अभिव्यक्ति दिइरहेका बेला उनकै क्याबिनेका एकजना मन्त्री भने ठूलो घोटलामा संलग्न रहेको रहस्य बाहिर आएको छ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले तारागाउँ विकास समितिको बाँकी रहेको ३९ मध्ये ३० प्रतिशत शेयर व्यापारीहरूलाई बिक्री गरेर ठूलो आर्थिक लाभ लिएको स्रोतको दावी छ ।

 समितिसँग अब ९ प्रतिशत मात्रै सेयर छ । स्रोतका अनुसार मन्त्री अधिकारीले तारागाउँ विकास समितिबाट सञ्चालित बौद्धको होटेल ह्यातका मालिकहरूलाई ३० प्रतिशत शेयर बिक्री गरेका हुन् । झण्डै चारदिनसम्म होटेल ह्यातमा भएको रात्रिकालीन गोप्य डिलमा मन्त्री अधिकारीले करोडौं रकम चलखेल गरेका थिए ।

 मन्त्री अधिकारीको पहलमा तारागाउँको ३० प्रतिशत सेयरलाई २४ अर्ब रुपियाँमा बिक्री गर्ने निर्णय भएको थियो । त्यसको कमिसन मात्रै २० करोड भन्दा बढि रहेको स्रोतको भनाइ छ । प्रधानमन्त्री ओलीसम्म कमिसन पु-याउनु पर्छ भनेर मन्त्री अधिकारीले प्रस्ताव राखेको स्रोतले थप बतायो । 

यता, विरोध हुन्छ भनेर यो निर्णयलाई मन्त्री अधिकारीले गुपचुप राखेका छन् । तारागाउँ विकास समितिले ३९ प्रतिशत सेयर आफूसँग राखेको थियो । ३० प्रतिशत सेयरको डिल पछि ह्यात होटेलका सञ्चालकहरू राधेश्याम सराफ, अरुण सराफ र अरुण श्रेष्ठसँग मन्त्री अधिकारीले ठूलो आर्थिक लाभ लिएको स्रोतको दाबी छ ।

 संसदमा सार्वजनिक लेखा समितिको सदस्य र विकास समितिको सभापति हुँदा विवादास्पद निर्णयहरू गरेर आलोचित बनेका अधिकारीले गुपचुप रुपमा यति ठूलो डिल गरेका छन् । तारागाउँको सेयर बिक्रीको सेटिङ पूर्व डिएसपी गोविन्द परियारले मिलाएका थिए । पूर्व डिएसपी परियार ह्यात होटेलमा सुरक्षा प्रमुखका रुपमा कार्यरत छन् ।

 यसैबीच, पर्यटन मन्त्री अधिकारीले केही दिन अगाडि नयाँ बानेश्वरस्थित विजुलीबजारमा रहेको नेविसंघकी एकजना महिला कार्यकर्ताको पसलको उद्घाटन गरिदिएका छन् । पसल बिजुलीबजारमा रहे पनि नेविसंघकी कार्यकर्ता श्रीमती बेबी कार्की चापागाइँले उद्घाटन कार्यक्रम होटेल अन्नपूर्णमा राखेकी थिइन् । बेबीले पसलमा भारतीय ब्राण्डको हर्वलपुलका सामान बिक्री गर्छिन् । कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापा पनि अथितिका रुपमा सहभागी थिए । ( यूनाइटेड पोष्ट साप्ताहिक)

प्रतिक्रिया

सम्बन्धित