प्रचण्ड र बामदेवबीचको सम्बन्धले ओलीलाई झट्का

prachanda and bamdev

   काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले आफ्नो सक्रियतालाई दिन प्रतिदिन बढाउँदै लगेका छन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली चारैतिरबाट आलोचित बनिरहेको बेला गौतमले आफ्नो गतिविधिलाई बढाएका हुन् ।

ओलीलाई धेरै विश्वास गर्न नसकेका गौतमले दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग निकटता बढाएका छन् ।

गौतमले पछिल्लो पटक नेपाली कांग्रेसका नेता एवम् सांसद अमरेशकुमार सिंहसँग लामो गोप्य वार्ता गरेको खुलासा भएको छ । केही दिन अघि काठमाडौंको कमलपोखरीस्थित एउटा होटेलमा गौतमले सिंहसँग परामर्श गरेका हुन् ।

त्यो वार्तामा गौतमको राजनीति अगाडि बढाउने बारेमा कुराकानी भएको स्रोतको भनाइ छ । गौतम र सिंहबीच भएको त्यो वार्तामा नेकपाका महासचिव विष्णु पौडेलको पनि सहभागिता रहेको स्रोतले बतायो । वार्तालाई गौतम, सिंह र पौडेलले निकै गोप्य राखेका छन् ।

नेकपाका नेता गौतमले डोल्पाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने चर्चा चलिरहेका बेला कांग्रेस नेता सिंहसंगको यो वार्तालाई धेरैले रहस्यका साथ हेरेका छन् । लुकाउन खोज्दा–खोज्दै पनि गौतम–सिंहको वार्ता लिक भएको छ ।

भारतीय गुप्तचर संस्थासँग राम्रो सम्बन्ध रहेका सिंहले पछिल्लो समय आफ्ना गतिविधिहरूलाई सूक्ष्म रुपमा अगाडि बढाएका छन् । सिंहले प्रचण्डलाई पनि गोप्य रुपमा भेट्ने गरेका छन् । प्रचण्डसँग खुमलटारमै तीन महिना यता एक दर्जन पटक सिंहले भेटघाट गरिसकेका छन् ।

प्रधानमन्त्री ओलीसँग भने सिंहले धेरै निकटताको सम्बन्ध बनाएका छैनन् । निर्वाचन अगाडिसम्म ओलीसँग राम्रो सम्बन्धमा रहेका सिंह किन बदलिएका हुन् केही बताइएको छैन । ओलीले दुईतिहाई बहुमतको दम्भ देखाएर भारतसंग चीन कार्ड खेलेपछि कांग्रेस नेता सिंह टाढिएको भनेर विश्लेषण हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित