समिरमानका सुटरको बयानले प्रहरी नै चकित, असुलीमा श्रीमतीलाई प्रयोग

samiren

 काठमाडौं। निर्माण व्यबासायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा पक्राउ परेका सुटरहरुको बयानले प्रहरी नै चकित परेको छ। गौचन हत्याका योजनाकार समिरमानसिंह बस्नेत समुहका सुटर उदयपुर रौताका अमर बहादुर राना , झापा विर्तामोडका लोप्साङ भनिने सोम तामाङ र काठमाडौ नागार्जुका रोशन बुढाथोकीलाई पक्राउ गरी अपराध महाशाखाले सोमबार सार्वजनिक गरेसँगै उनीहरुको बयान भइरहेको छ ।

  गौचन हत्या, प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी चरीमाथिको आक्रमण र दाबा लामा माथिको आक्रमणमा समिरमानको निर्देशनमा आफुले गोली चलाएको बयान सुटर अमर बहादुर रानाले दिएका छन् । हतियार व्यवस्थापन गर्ने भने समिरमानकी श्रीमती माया शेरचन रहेको रहस्य उनले खोलेका छन् । त्यस्तै, समिरमानले एक जना व्यक्तिमार्फत हतियार उपलब्ध गराएपछि युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई आफुले गोली चलाएको बयान लोप्साङले दिएका छन् ।

 लोप्साङ उनै व्यक्ति हुन, जसले दाबा लामामथि आक्रमण हुँदा काठमाडौंका तत्कालिन एसएसपी छबिलाल जोशी ,केही ठेकेदार र क्राइम बिटका केही पत्रकारहरुलाई फोन गरी घटनाको जिम्मा आफ्नो समुहले लिएको भन्दै दाबी गरेका थिए। सोमबार प्रहरीले सार्वजनिक गर्नु अघी लोप्साङले आफुसँग दर्जनौ पत्रकारहरुको नाम रहेको भन्दै फोन आँफैले गरेको स्विकार गरेका थिए। लोप्साङले इन्टरनेट कलमार्फत केही व्यापारीसँग फिरौती माग गरेको बयान दिएका छन्।

 भारतमा बसेर समिरमानको निर्देशनमा नेपालमा अपराधको संजाल फैलाएका उनीहरुलाई समिरमानले भनेजजति  रकम भने नदिएको उल्लेख गरेका छन् । नेपालमा गुण्डा नाइकेहरु मध्य आफुलाई शक्तिशाली बनाउन र एक छत्र राज चलाउन समिरमानलेले गुण्डा र प्रहरीदेखी व्यापारीहरुलाई निशाना बनाउंदै आएका थिए ।

 यसअघी प्रहरीकै इन्काउन्टरमा मनोज पुन मारिएपछि जेल भित्र रहेका अर्का डन रमेश बाहुनसँग बस्नेतले केही प्रहरी अधिकारीमार्फत राम्रो सम्बन्ध बनाएको महाशाखाका एक अनुसन्धान अधिकारीले दाबी गरे। प्रहरीका अनुसार गौचन हत्यामा फरार गंगा लिङ्देन र अजय थापा बाहुनको समुहमा संलग्न थिए ।

 बाहुन र समिरमानलाई मिलाउन भने उनीहरुकै श्रीमती पनि संलग्न रहेको प्रहरी स्रोत वताउंछ। तीन गोली काण्डमा संलग्न नेपाली सेनाका भगौडा सिपाही रानाले समिरमानकी श्रीमती माया शेरचनले हुण्डी गरेर आफुहरुलाई पैसा पठाउने गरेको बयान दिएका छन् ।

 रानाका अनुसार काभ्रेली गुण्डा नाइके दाबा लामालाई गोली हाने लगत्तै उनले मायालाई हतियार राख्न दिएका थिए भने गौचनलाई हानेको पेस्तोल पनि मायाले नै उपलब्ध गराएकी थिइन। सुटर रानाको बयानका आधारमा प्रहरीले समिरमानकी श्रीमती मायालाई पनि पक्राउ गरी अनुसन्धान गर्न सक्ने स्रोतको भनाइ छ ।

 समिरमानले एक चिकित्सक र मिडियाका मालिकलाई आक्रमणको तारो बनाएको बयान पनि रानाले दिएको अनुसन्धानका क्रममा खुलेको छ। तर, सुरक्षाका कारणले प्रहरीले उनीहरुको नाम भने गोप्य राखेको छ। गौचन हत्यामा अझै फरार रहेका सुटर गंगा लिङ्देन र अजय थापाको पनि खोजी कार्य तिब्र बनाइएको महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहले वताएका छन्। लिङ्देन र थापालाई समिरमानले श्रीमती मायामार्फत छुट्टै रुपमा परिचालन गरेको प्रहरीको बुझाई छ । अनुसन्धानकै क्रममा जेल भित्र रहेका बाहुन र समिरमानले ठेकेदारदेखी व्यापारीसँग रकम असुल्न आफ्ना श्रीमतीहरुलाई प्रयोग गरेको प्रमाण पनि प्रहरीले हाता पारेको महाशाखा स्रोतले थप उल्लेख गरेको छ ।  

 

प्रतिक्रिया

सम्बन्धित