वरिष्ठ वामपन्थी नेता तथा मानवअधिकारवादी अभियन्ता तुलाधरको निधन ,प्रधानमन्त्रीद्वारा दुख व्यक्त

padma_ratna_tuladhar final
काठमाडौं । वरिष्ठ वामपन्थी नेता तथा मानवअधिकारवादी अभियन्ता पद्मरत्न तुलाधरको आइतबार निधन भएको छ ।
तुलाधरको ७७ वर्षको उमेरमा थापाथलीस्थित नर्भिक अस्पतालमा आज निधन भएको अस्पतालले बताएको छ । मष्तिस्कघात भएर कात्तिक ९ गते अन्नपूर्ण न्युरो अस्पताल भर्ना भएका उनलाई मृगौलाले काम गर्न छाडेपछि ५ दिनअघि नर्भिक अस्पताल लगिएको थियो । नर्भिकमा दुई तीन पटक डायलासिस गरिएको थियो । चिकित्सकहरुका अनुसार तुलाधरलाई मस्तिष्कघात, मुटुको समस्या एंब मुटुको धमनीमा अवरोध भएपछि एन्जियोप्लास्टि गरेर स्टेन्ट प्रत्यारोपण गरिएको थियो । त्यस्तै उच्च रक्तचाप र मधुमेहको समस्याबाट पनि पीडित उनमा पछिल्लो समय फोक्सोमा पनि समस्या देखिएको थियो ।
नर्भिकमा डा.पंकज जलान, डा. रमेश चोखानी डा.यादव भट्टलगायतको चिकित्सकको टिमले तुलाधरको स्वास्थ्य जाँच गरेको थियो । आइतबार मुटु र फोक्सोले पनि काम गर्न छाडेपछि उनको निधन भएको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्रीद्वारा दुख व्यक्त
वामपन्थी नेता पद्मरत्न तुलाधरको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले ट्विट गर्दै लेखेका छन् ‘वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको खवर सुन्दा मलाई अत्यन्तै दुःख लागेको छ । नेपालको वाम आन्दोलनमा उहाँले पुर्‍याउनु भएको योगदान सदा स्मरणीय रहनेछ । दिवंगत तुलाधरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

प्रतिक्रिया

सम्बन्धित