इन्धनको मूल्य बढाएको विरोधमा हिंसात्मक प्रदर्शन

france

   काठमाडौं । इन्धनको मूल्य बढाएको विरोधमा फ्रान्समा हिंसात्मक प्रदर्शन भएको छ । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नुपरेको छ । पेट्रोल र डिजेलको मूल्य अस्वाभाविक बढाएको भन्दै फ्रान्सका जनताले सरकारविरुद्ध एक सातादेखि प्रदर्शन गर्दै आएका थिए ।

प्रदर्शनकारीले राजधानी पेरिसको शान्ज एलीज इलाकाका निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो । प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरी प्रदर्शनकारीलाई तितरबितर पारेको थियो । तर, आक्रोशित समूहले केही गाडीहरुमा आगजनी र तोडफोड गरे भने प्रहरीमाथि ढुंगामुढासमेत गरेपछि प्रदर्शनले हिंसात्मक रुप लिएको हो ।


इन्धनको मूल्य वृद्धिको विरोधमा फ्रान्समा हजारौं प्रदर्शनकारीहरुले पहेंलो रंगको ज्याकेट लगाएर सरकारविरुद्ध सडकमा उत्रिएका छन् । उनीहरुले राष्ट्रपति इनम्यानुएल म्याक्रोको राजीनामा माग्दै नाराबाजी गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन ३ हजारभन्दा बढी प्रहरीहरु तैनाथ गरिएको छ ।

फ्रान्समा विगत एक वर्षयता डिजेलमा २३ प्रतिशतले मूल्यवृद्धि भएको छ । यो मूल्य सन् २००० पछिकै उच्च हो । सरकारले भने अन्तर्राष्ट्रिय बजारमा बढेको कच्चा तेलको मूल्यका कारण र बिजुलीबाट चल्ने गाडीहरुलाई प्रोत्साहन गर्नका लागि इन्धनको मूल्य बढाउनु परेको जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित