गभर्नरलाई इच्छाराजको दबाब

chirinjibi and ichha raj

 काठमाडौं । नेपाल राष्ट्र बैंकको नीति विपरित सिभिल होमले काम गर्दै आएको खुलेपछि सिभिल बैंक र सिटिसी मलका सञ्चालक इच्छाराज तामाङ ठूलो चलखेलमा लागेका छन् । कानुन विपरित तामाङले सिटिसी मलमा सिभिल बैंकको कर्पोरेट कार्यालय सञ्चालन गर्न लागेका छन् ।

 जसका लागि राष्ट्र बैंकले नदिंदा उनी चलखेलमा जुटेका हुन् । नियमानुसार आफ्नै समूह तथा एउटै मालिकले निर्माण गरेको मलमा कर्पोरेट कार्यालय राख्न पाईदैन । तर, राष्ट्र बैंकलाई ठाडो चुनौती दिएर तामाङले सिटीसी मलमा कर्पोरेट कार्यालय राख्न लागेका हुन् । तामाङ सिभिल बैंक र सिटिसी मलका सञ्चालक हुन् ।

 राष्ट्र बैंकले सिभिल होमबाट स्वामित्व हस्तान्तरण भएको र महानगरपालिकाबाट निर्माण सम्पन्न भएको प्रमाणपत्र पेश गर्न निर्देशन दिइसकेको छ । तर, तामाङ भने फर्जी डकुमेन्ट बनाएर आफ्नो नाममा रहेको स्वामित्व आफन्तको नाममा सारेर सिटीसी मलमा नै कर्पोरेट कार्यालय राख्न चलखेलमा लागेका हुन् ।

 त्यसका लागि तामाङले गभर्नर चिरञ्जीवी नेपाललाई दबाब दिने गरेको स्रोतले बतायो । घरजग्गा व्यवसायी तथा सांसद् तामाङको सिभिल होम र बैंक दुबै संस्थामा उत्तिकै हैसियतमा शेयर लगानी रहेको छ ।

 राष्ट्र बैंकको बैंक तथा वित्तिय संस्था ऐन(वाफिया) अन्तर्गत बैंकको कम्तिमा एक प्रतिशतसम्म सेयर भएका सेयरधनीको व्यक्तिगत सम्पत्तिमा बैंकको कुनै पनि संरचना भाडामा लिन/दिन वा भोगचलन गर्न नपाईने नियम छ । संसदबाट यस्तो नियम पारित गराउने संयोजक उनै तामाङ हुन् । तर, उनी आफै संयोजक भएर आफैले बनाएको कानुनको उल्लंघन गर्दैछन् ।

 संयुक्त आवास ऐनले उक्त सम्पत्ति पूर्ण रुपमा हस्तान्तरण नभएसम्म सामूहिक स्वामित्वमा रहने उल्लेख गरेको छ । मलमा अझै पनि तामाङको ४० प्रतिशत स्वामित्व रहेको छ । तामाङले सिभिल मलका युनिटहरू बजार मूल्यमा नबिकेपछि आफूले भाडामा लिएर सञ्चालन गरिएको भवनलाई छाडेर सिटिसी मलमा बैंकको कर्पोरेट कार्यालय सार्न लागेका हुन् । (यूनाइटेड पोस्ट साप्ताहिक)

प्रतिक्रिया

सम्बन्धित