टेलिकमद्धारा दुई चिनियाँ कम्पनीलाई देशभर फोरजी विस्तारको जिम्मा

ntc

    काठमाडौं । नेपाल टेलिकमले दुई चिनियाँ कम्पनीसँग चौथो जेनेरसनको मोबाइल डाटा सेवा (फोरजी) विस्तारका लागि सम्झौता गरेको छ । एक वर्षभित्र काम सक्नुपर्ने सर्तसहित आइतबार भएको सम्झौतामा देशैभरि फोरजी विस्तार गर्ने उल्लेख छ ।

हङकङस्थित चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनल (सीसीएसआई) र जेडटीईसँग सीसीएसआईले रेडियो एक्सेस नेटवर्क (र्‍यान) र जेडटीईले कोर नेटवर्कको काम गर्ने गरी सम्झौता भएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

टेलिकमले अघिल्लो वर्ष नै फोरजी सेवा विस्ता गनृ टेण्डर आब्हान गरेपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि भन्दै करिब १० महिना रोकेको थियो । टेलिकमले फोरजी विस्तारका लागि गत वर्ष कात्तिकमा टेन्डर आह्वान गरेको थियो । तर, टेलिकमले फोरजी विस्तारका लागि परेको प्रस्तावको मूल्यांकन सुरु गर्नुअघि नै अख्तियारमा खरिद प्रक्रियामा अनियमितता भएको भन्दै उजुरी परेपछि आयोगले छानविन गरेको हो ।

२०७४ सालको पुसमा अनुसन्धान थालेको आयोगले कात्तिक ७ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखी फोरजी विस्तार प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो ।

सम्झौतासँगै नेपालभर ६५ लाख क्षमताको फोजी एलटीई विस्तारका लागि कोर नेटवर्क र र्‍यान नेटवर्क तयारीको काम अघि बढ्ने टेलिकमले जनाएको छ । फोजी विस्तारका लागि ६ हजार ७ सय बढी टावर परिचालन हुने टेलिकमले जनाएको छ । योबाहेक सहरी क्षेत्रमा बाक्ला घरहरू भएका स्थानमा करिब छ हजार साना टावरहरू राख्ने योजना छ ।

कोर नेटवर्क विस्तारका लागि हुवावे, जेडटीई र सिंगापुरको मभिनियरले प्रस्ताव दर्ता गराएका थिए । र्‍यानका लागि जेडटीई र सीसीएसआईले प्रस्ताव हालेका थिए ।

 

संसद्को अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशनको अधीनमा रही सम्झौता गरिएको टेलिकमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । कोर नेटवर्क विस्तारको काम १ अर्ब ५६ करोड ७३ लाखमा सक्ने गरी जेडटीईले प्रस्ताव हालेको टेलिकमले जनाएको छ ।

र्‍यान नेटवर्कको विस्तारका लागि दुई चरणमा प्रस्ताव माग गरिएको थियो । र्‍यान १ अन्तर्गत तत्कालीन मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्र छन् । त्यस्तै नेटवर्क २ अन्तर्गत सुदूरपश्चिमाञ्चल, पश्चिमाञ्चल र पूर्वाञ्चल विकास क्षेत्र राखिएका छन् । र्‍यान १ का लागि ८ अर्ब ७५ करोड २६ लाख र र्‍यान २ का लागि ८ अर्ब ३९ करोड ३१ लाखको प्रस्ताव सीसीएसआईले राखेको टेलिकमले जनाएको छ । टेलिकमले देशभर फोरजी विस्तार गर्न १८ अर्ब ७१ करोड लाग्ने पनि जनाएको छ । टेलिकमले यसअघि २०७३ पुस १७ गतेबाट नेपालमै पहिलोपटक फोरजी सेवा सुरु गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित