हावाहुरी पीडितको अवस्था झन कष्टकर, सरकारलाई धिक्कार्ने वातावरण नबनोस्

hawa pidit

  काठमाडौं । २०७२ सालमा गएको विनाशकारी भूकम्पका कारण अझैपनि कतिपय परिवार त्रिपालमुनी जीवन विताइरहेका छन् । हुनत सरकारले भूकम्प पीडितलाई तीन लाख राहत दिने घोषणा गरिसकेको छ भने कयौंले उक्त राहत पनि लिइसकेका छन् । तर, कतिपय परिवार भने अझै पनि रकम अभावका कारण घर बनाउन नसकेर त्रिपालमुनी जीवन विताइरहेका छन् ।

कहि घरको नक्सा पास नहुने त कहि ३ लाखले एक कोठाको पनि घर नबन्ने हुँदा पीडितहरुले घर बनाउन सकेका छैनन् । कतिपय पीडितहरुले भूकम्प अगाडि नै शहर छेउमा तीन फुटे बाटोमा किनेको जग्गामा घर बनाउन चाहेपनि सरकारले भूकम्प पछि बाटोको मापदण्ड तोकोर झन उनीहरुलाई अझै दुःख दिइरहेको छ ।

भूकम्प जानु अघि जहाँ पनि नक्सा पास हुने अवस्थाका कारण तीन फुटे बाटोमा घडेरी मात्रै किनेका उनीहरु अहिले नक्सा पास नहुँदा घर बनाउन नसकेर बसेका छन् । तर, त्यसतर्फ न त सरकारको नै ध्यान जान सकेको छ न त पुनर्निर्माण प्राधिकरणको नै ।

तर, अहिले हामीले प्रसंग उठाउन खोजेको विषय भने आइतबार तराई भएको हावाहुरीको वितण्डा हो । यसरी झण्डै ४ वर्षसम्म त भूकुम्प पीडितले राहत पाउन सकेका छैनन भने सरकारले हावाहुरी पीडितलाई कसरी सम्बोधन गर्ने हो त्यो प्रतिक्षाको विषय बनेको छ । हुनत सरकारले पीडित परिवारलाई ३÷३ लाख दिने घोषणा गरिसकेको छ । तर, त्यो पैसा पीडितले कहिले पाउने हुन भन्ने चाहिं निश्चित छैन ।

२८ जनाको ज्यान जानेगरी आएको हुण्डरीले बाराको फेटा गाउँपालिका–६ पुरैनियाका धेरै पीडितहरुलाई दिन काटे रात र रात काटे दिन काट्न धौ–धौ परेको छ । न खाने व्यवस्था न बस्ने ठाउँ नै । सुत्नेको त कुरै छाडौं । यतिसम्मकी मंगलबार रेडक्रसले बाँडेको पालमा समेत विवाद देखिएको भन्दै पाल वितरण नै स्थगित गर्नु परेको थियो । एउटा पालमा त त्यत्रो विवाद हुन्छ भने अब त्यहाँ सरकारले कसरी आफ्नो प्रतिनिधित्व देखाउँछ भन्ने प्रश्न खडा भएको छ ।

पीडितहरुलाई यतिबेला न राहत, न खाना, न पानी। तीन रातदेखि आँखामा निद्रा छैन। कसैको परिवार छैनन्, कसैको घर छैन र भएका घरपनि सद्दे छैनन् । बालबालिकाहरु भोकै छन् । अधिकांश पीडितहरु चाउचाउ र बिस्कुटको भरमा दुई दिनदेखि बाँचिरहेका छन् ।

आइतबार साँझ हावाहुरी आउन थालेपछि कतिले भागेर ज्यान जोगाए पनि खाद्यान्न, लत्ताकपडा भने केही पनि बाँकी नरहेको पीडितहरुको भनाई छ । अझ मृतकका परिवारको पीडा त हामीले कल्पना पनि गर्न सक्दैनौं । एकातिर परिवारको सदस्य नै छैनन भने अर्कोतिर उनीहरु घर न घाटको भएका छन् ।

त्यतिमात्र कहाँ हो र हुण्डरीले खेतको बालीसमेत सखाप पारेको छ । केही दिनका लागि राहत पाए पनि पछि कसरी बाँच्ने भन्नेमा पीडितहरु सोच्न बाध्य छन् । तर, फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले गाउँपालिकाको तर्फबाट ठाउँ–ठाउँमा टेन्ट खडा गरी सामूहिक खानाको व्यवस्था गरेको बताएका छन्। मंगलबारदेखि सामूहिक खानाको व्यवस्था गरिएको हो।

हावा–हुन्डरीले फेटा गाउँपालिकाको वडा नम्बर १, ३, ६ सबैभन्दा बढी प्रभावित भएको थियो, जहाँका ६ सयभन्दा बढी घरधुरी क्षतिग्रस्त बनेका छन्, जसमा एक सयभन्दा बढी घर पूर्णरूपमा ध्वस्त भएको छ।

यस्तो अवस्थामा सरकारले भूकम्प पीडितलाई जस्तो नयाँ मापदण्ड तोकेर दुःख दिने भन्दा पनि तत्कालै छिटो र सरल उपाय अपनाएर सबैभन्दा पहिले पीडितहरुलाई गाँस, बास र कपासको व्यवस्था गर्न सक्नुपर्छ । नत्र जनताले फेरि पनि सरकारलाई धिक्कर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित