लेनदेन र चेक बाउन्समा स्वार्थ राख्दा ९ महिना नपुग्दै एसएसपी लामा तानिए

ssplamathumb

 काठमाडौं। महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामा ९ महिना नपुगी सरुवा भएका छन् । शान्ति सुरक्षा कायम गर्ने र अपराध कायम गर्नतिर भन्दा पनि लेनदेन र चेक बाउन्सका मुद्दामा बढी चासो देखाएका कारण ९ महिनामै उनी लागूऔषध ब्यूरोमा सरुवा भएका छन् ।

 लामा २०७५ साउन ३० मा काठमाडौं परिसरमा सरुवा भएका थिए । उनको सरुवा भएको २०७६ बैशाख ३० मा ९ महिना पुग्दैथियो । तर ७ दिनअघि नै उनी सरुवा भएका छन् । उनीसँगै सरुवा भएका ललितपुर प्रहरीका प्रमुख एसएसपी रविन्द्रसिंह धानुक चलाइएको छैन । 

 आइजीपी सर्वेन्द्र खनाल आगामी साउनमा मात्र काठमाडौं परिसर र अपराध महाशाखाका प्रमुखलाई परिवर्तन गर्ने पक्षमा थिए । तर परिसरका प्रमुख एसएसपी वसन्त लामाको कार्यक्षमता अति कमजोर र असुलीमा मात्र केन्द्रित भएपछि ९ महिना नपुग्दै उनलाई सरुवा गरिएको हो ।

 लामामाथि काठमाडौंमा शान्ति सुरक्षा कायम गर्न असफल भएको र चोरी लुटपाट रोक्न नसकेको आरोप लागेको छ । एसएसपी लामा लेनदेन र चेक बाउन्सका उजुरीतिर बढी केन्द्रित हुने गरेका छन् । लामाले आफ्नो कार्यक्षेत्र बाहिए गएर केही व्यक्तिहरुले दिएको निवेदनलाई आधार मानेर चेक बाउन्स नगर्न प्रभु र बैंक अफ काठमाण्डूलाई हालै पत्र लेखेको सार्वजनिक भएको थियो ।

 काठमाडौं परिसरले दुई बैंकलाई पत्र लेखी होमप्रसाद चौलागाईं र गोपाल महर्जनको निवेदनले युनिक फ्युल सेन्टर र भ्याली रिकेस सप्लायर्सको नाउँमा रहेको कुनै पनि चेकहरु बाउन्स नगरिदिनुहुन अनुरोध गरेको थियो । चेकहरु अनुसन्धानका क्रममा रहेको हुँदा अन्य चेकहरु पनि जारी नगराउन अनुरोध गरिएको पत्र परिसरले प्रभु र बैंक अफ काठमाडौंलाई लेखेको सार्वजनिक भएपछि उनको कार्यक्षमतामा प्रश्न उठेको थियो । एसएसपी लामा लेनदेनका केसमा दत्तचित्त भएर लागेको दृष्टान्त चेक बाउन्स नगर्न लेखेको पत्र नै हो ।

ठगीमा मुछिएका होम प्रसाद चौलागाईं र गोपाल महर्जनलाई जोगाउन एसएसपी लामाले बैंकलाई पत्र लेखेका हुन् । होम प्रसाद चौलागाईं भ्याली रिकेस सप्लायर्सका सञ्चालक हुन् भने गोपाल महर्जन युनिक फ्युल सेन्टरका सञ्चालक हुन् । यी दुई व्यक्तिहरुले आन्तरिक सहमति गरेर शिवप्रसाद तिमिल्सिनाई पम्प सञ्चालन गर्न दिएका थिए ।

क्लव डेजाभूको ठगीप्रकरणदेखि अरु धेरै लेनदेन र ठगीमा एसएसपी लामाले ठुलो स्वार्थ राखेका थिए ।
प्रहरीको पैसा मिटरब्याजमा चलाएपछि तिर्न नसकेर थुनिएका काठमाडौं तारकेश्वर नगरपालिका ११ का रवीन्द्रकुमार ढुंगानाको यातनाका कारण २०७५ कात्तिक १९ गते हिरासतमा मृत्यु भयो ।

प्रहरी अस्पताल महाराजंगमा कार्यरत नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक सुरेन्द्र कार्कीले मिटर ब्याजमा रुपैयाँ लगाउने काम गर्थे । कार्कीले दिएको ५ लाख रुपैयाँको ब्याज १५ लाख भन्दा बढी ढुंगानाले तिरे पनि साँवा चुक्ता नगरेको भन्दै कार्कीले ढुंगानालाई प्रहरीको पहुँच प्रयोग गरी थुनाएका थिए ।

 असई कार्कीले ढुंगानासँग चेक काट्न लगाएको र सोही चेक बाउन्स गराएर ढुंगानालाई पक्राउ गराएका थिए ।

प्रहरी अस्पताल महाराजगंजमा कार्यरत प्रहरी सहायक निरीक्षक सुरेन्द्र कार्कीसहित बालाजु प्रहरी वृत्तले ढुंगानालाई २०७५ कात्तिक १८ मा पक्राउ गरेको थियो । उनलाई घरबाटै पक्राउ गरिएको थियो । ढुंगाना १९ गते महानगरीय प्रहरी परिसरको हिरासतमा बिरामी परेका थिए ।

 उनलाई प्रहरीले उपचारका लागि वीर अस्पताल लगेको थियो जहाँ उनको मृत्यु भयो । सुरुमा रवीन्द्रको मृत्यु रहस्यमय भएको आरोप लगाउँदै उनको परिवारले शव बुझ्न मानेका थिएनन् । तर पछि असई कार्कीले २७ लाख रुपैयाँ क्षतिपूर्ति दिने गरी सम्झौता गराएर परिवारलाई शव बुझ्न लगाएका थिए । यसरी प्रहरी हिरासतमा थुनुवाको मृत्युु हुँदा पनि एसएसपी लामाले यो प्रकरणमा दोषी प्रहरीलाई कारबाही नै नगरी उन्मुक्ति दिए ।

 त्यस्तै, काठमाडौं परिसरकै टोलीले तेन्दु शेर्पाको मूलपानीस्थित घरमा जुवा अखाडामा छापा मार्ने क्रममा आतंकित बनाउँदा घरको छतबाट हाम्फालेर दुई जनाको ज्यान गएको थियो । मूलपानी हेर्ने बौद्ध बृत्तका इन्चार्जलाई थाहा नदिई एसएसपी लामाले जुवामा छापा हानेका थिए ।

 छापा हान्न प्रहरी आएपछि झ्यालबाट भाग्ने क्रममा हाम्फाल्दा सरोज घले र सोमलाल तामाङको मृत्यु भएको थियो । वाइसिएलका काभ्रे इन्चार्ज अभिलास तामाङलाई कोठामा बसेको अवस्थामा गोली हानेकोमा पनि परिसरको टोली आलोचित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित